मंगलबार १२ श्रावण २०८३
अर्थ

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

सोमबार श्रावण ११, २०८३/ Monday 07-27-26

गण्डकी । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा ११ हजार २३२ दुग्ध किसानलाई करिब पाँच करोड ५८ लाख रुपैयाँ प्रोत्साहन रकम वितरण गरेको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार दूध उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गराइएको हो।

मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा. शोभा शर्माले तोकिएको मापदण्ड पूरा गरेका दुग्ध सहकारीमार्फत किसानलाई प्रोत्साहन रकम वितरण गरिएको जानकारी दिए। उनका अनुसार दैनिक कम्तीमा २०० लिटर र वार्षिक २०० दिन दूध संकलन तथा कारोबार गर्ने सहकारी संस्थाले यस कार्यक्रमअन्तर्गत रकम प्राप्त गर्न सक्ने व्यवस्था छ।

यस्तै, आर्थिक वर्षभर कम्तीमा ३० दिन सहकारीमा दूध बिक्री गर्ने किसान प्रोत्साहन सहयोगका लागि योग्य हुनेछन्। एउटा सहकारी संस्थाले अधिकतम १७ लाख ५० हजार रुपैयाँसम्म अनुदान प्राप्त गर्न सक्ने प्रावधान रहेको मन्त्रालयले जनाएको छ।

कार्यक्रमअन्तर्गत किसानलाई प्रतिलिटर दूधमा पाँच रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराइन्छ। तर, केही सहकारीमा माग बढी भएका कारण सबै किसानलाई पूर्ण दरमा रकम वितरण गर्न नसकिएको डा. शर्माले बताए।

मन्त्रालयका अनुसार सहकारी संस्थाले प्राप्त कुल प्रोत्साहन रकममध्ये चार प्रतिशत सञ्चालन तथा व्यवस्थापन खर्चका लागि राख्न पाउनेछन् भने बाँकी ९६ प्रतिशत रकम किसानलाई वितरण गरिने व्यवस्था रहेको छ।

तपाईको प्रतिक्रिया