तेहरान। क्यास्पियन सागरमा आफ्नो व्यापारिक जहाजमाथि ड्रोन आक्रमण भएको दाबी गर्दै इरानले युक्रेनलाई जवाफी कारबाहीको चेतावनी दिएको छ। घटनाप्रति आपत्ति जनाउँदै इरानले तेहरानस्थित युक्रेनी कूटनीतिक प्रतिनिधिलाई बोलाएर स्पष्टीकरणसमेत मागेको छ।
इरानी अधिकारीका अनुसार आक्रमणमा एक नाभिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। इरानको विदेश मन्त्रालयले घटनालाई ‘आक्रामक कार्य’को संज्ञा दिँदै राष्ट्रिय हित र सुरक्षाको रक्षाका लागि आवश्यक कदम चालिने चेतावनी दिएको छ।
यता, युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले क्यास्पियन सागरमा इरानसँग सम्बन्धित सैन्य सामग्री ढुवानीमा प्रयोग भएका जहाजलाई लक्षित गरिएको दाबी गरेका छन्। यद्यपि, इरानी व्यापारिक जहाजलाई नै प्रत्यक्ष रूपमा निशाना बनाइएको हो भन्ने कुरा उनले पुष्टि गरेका छैनन्।
रुस–युक्रेन युद्धका बीच इरान र युक्रेनबीच पनि तनाव बढिरहेका बेला पछिल्लो घटना सार्वजनिक भएको हो। युक्रेनले इरानले रुसलाई ‘शाहेद’ ड्रोन उपलब्ध गराउँदै आएको आरोप लगाउँदै आएको छ। ती ड्रोन रुसले युक्रेनमाथिको युद्धमा प्रयोग गरिरहेको युक्रेनको दाबी छ।
यसैबीच, राष्ट्रपति जेलेन्स्कीले रुसले मध्यपूर्वमा हुने सैन्य कारबाहीका लागि इरानलाई उपग्रहबाट प्राप्त गुप्तचर सूचना उपलब्ध गराइरहेको आरोपसमेत लगाएका छन्।
क्यास्पियन सागरमा भएको भनिएको ड्रोन आक्रमणपछि दुवै पक्षका आरोप–प्रत्यारोपले इरान र युक्रेनबीचको तनाव थप चर्किने संकेत देखिएको छ।
तपाईको प्रतिक्रिया