शनिबार ९ श्रावण २०८३
बिश्वो

युक्रेनमा रुसी आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, एकसय बढी घाइते

शनिबार श्रावण ९, २०८३/ Saturday 07-25-26

काठमाडौं। रुसले युक्रेनका विभिन्न क्षेत्रमा गरेको भीषण आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन्।

राजधानी किभस्थित ड्रोन प्रविधि प्रदर्शनी भइरहेको स्थलमा रुसले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा मात्रै १० जनाको ज्यान गएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार रक्षा क्षेत्रका उच्च अधिकारीहरूको सहभागिता रहेको उक्त प्रदर्शनीमा भएको आक्रमणमा करिब एक सय जना घाइते भएका छन्।

यस्तै, पूर्वी युक्रेनको स्लोभियान्स्क शहरमा रुसी ग्लाइड बम आक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ। उत्तरी सुमी क्षेत्रमा शनिबार बिहान भएको अर्को आक्रमणमा पनि दुई जनाको ज्यान गएको युक्रेनी सैन्य अधिकारीहरूले बताएका छन्।

आक्रमणअघि शुक्रबार साँझ राष्ट्रपति जेलेन्स्कीले रुसले ४८ घण्टाभित्र अर्को ठूलो मिसाइल आक्रमण गर्न सक्ने गुप्तचर सूचना प्राप्त भएको बताएका थिए।

युक्रेनी वायुसेनाका प्रवक्ता युरी इहनातका अनुसार किभ नजिकको आक्रमणमा रुसले तीनवटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो। तीमध्ये एउटा मिसाइल मात्रै युक्रेनको वायु प्रतिरक्षा प्रणालीले खसाल्न सफल भएको थियो।

उता, रुसले पनि आक्रमण गरेको पुष्टि गर्दै रक्षा मन्त्रालयले युक्रेनले रुसभित्र आक्रमण गर्न प्रयोग गर्ने ड्रोन प्रविधि प्रदर्शन भइरहेको स्थानलाई अत्याधुनिक दूरगामी हतियारबाट निशाना बनाइएको जनाएको छ।

सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता यस्ता प्रदर्शनीस्थलमा भएको यो कम्तीमा तेस्रो आक्रमण हो।

यसैबीच, युक्रेनले शुक्रबार रुसको किरोभ शहरस्थित एक सैन्य उद्योगमा गरेको आक्रमणमा ६ जनाको मृत्यु भएको र २६ जना घाइते भएको रुसी पक्षले जनाएको छ। साथै, रुसको सबैभन्दा ठूलो अनलाइन खुद्रा विक्रेता ‘वाइल्डबेरीज’का गोदामहरूमा पनि युक्रेनले ड्रोन आक्रमण गरेको बताइएको छ।

 

तपाईको प्रतिक्रिया