मंगलबार १२ श्रावण २०८३
समाज

साउनको दोस्रो सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

सोमबार श्रावण ११, २०८३/ Monday 07-27-26

काठमाडौं । साउनको दोस्रो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठका अनुसार भक्तजनको सहज दर्शनका लागि बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएको छ। साउने झरीको समेत प्रवाह नगरी भक्तजन बिहानैदेखि दर्शनका लागि पशुपति क्षेत्रमा पुगेका छन्।

भक्तजनको सहज, सुरक्षित र व्यवस्थित दर्शन तथा विशेष पूजाका लागि यसपटक थप व्यवस्थापन गरिएको कोषले जनाएको छ। दर्शन व्यवस्थापनलाई प्रभावकारी बनाउन कोषका पदाधिकारी तथा कर्मचारीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी तथा विभिन्न धार्मिक र सामाजिक संघसंस्थाका प्रतिनिधि परिचालन भएका छन्।

कोषका सदस्यसचिव तीर्थ श्रेष्ठले साउनका सोमबार पशुपतिनाथमा आउने लाखौँ भक्तजनलाई सहज, सुरक्षित र मर्यादित वातावरणमा दर्शन तथा पूजाआराधना गराउने गरी आवश्यक व्यवस्था मिलाइएको जानकारी दिए।

मन्दिरका चारवटै ढोका बिहान ३ बजेदेखि खुलेका छन् भने बेलुका आरतीपछि राति ८ बजेसम्म भक्तजनका लागि खुला राखिने तयारी गरिएको छ। विशेष पूजा भने बिहान ८ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुनेछ।

मन्दिर प्रवेशका लागि चारवटा लाइनको व्यवस्था गरिएको छ। बिहानैदेखि भक्तजनको उपस्थिति बढे पनि लामो लाइन भने नरहेको कोषले जनाएको छ। पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत आवश्यक सेवाको समेत व्यवस्था गरिएको छ।

पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, मक्खन महादेवलगायतका शिव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ। साउनको दोस्रो सोमबार देशभरका विभिन्न शिवालयमा पनि श्रद्धालु भक्तजन पूजाआराधना तथा दर्शनका लागि पुगेका छन्।

 

तपाईको प्रतिक्रिया