आइतबार ८ कार्तिक २०८३
बिश्वो

फ्रान्समा महँगीविरुद्ध उग्र प्रदर्शन, एक हजारभन्दा बढी पक्राउ

आइतबार कार्तिक ८, २०८३/ Sunday 10-25-26

काठमाडौं । बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर भएका प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले एक हजारभन्दा बढीलाई पक्राउ गरेको छ। शनिबार देशका विभिन्न सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको बीबीसीले जनाएको छ।

दिनभर शान्तिपूर्ण देखिएका प्रदर्शन साँझपख तनावपूर्ण बनेका थिए। राजधानी पेरिससहित मार्से, लियों, बोर्डो र क्लेरमोन्ट–फेरान्डमा प्रदर्शनकारी र दङ्गा नियन्त्रण प्रहरीबीच तीव्र झडप भएको थियो। भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो।

फ्रान्सको गृह मन्त्रालयका अनुसार शनिबार देशभर करिब चार लाख १० हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए। तर, ट्रेड युनियनहरूले प्रदर्शनमा सहभागी हुनेको सङ्ख्या आठ लाखको हाराहारीमा रहेको दाबी गरेका छन्।

यसअघि भएका लुटपाट, तोडफोड र आगजनीका घटना दोहोरिन नदिन सरकारले देशभर ७० हजार प्रहरी तथा विशेष सुरक्षा बल परिचालन गरेको थियो। राष्ट्रपति इम्यानुएल म्याक्रोनले यस साता मान्यता प्राप्त ट्रेड युनियनहरूले आयोजना गरेका प्रदर्शनलाई मात्र अनुमति दिइने घोषणा गरेका थिए।

दक्षिणी सहर मार्सेमा प्रदर्शनकारीहरूले फोहोर फाल्ने डब्बामा आगो लगाउँदै सडक अवरुद्ध गरेका थिए। बोर्डोमा पसलका काठका फ्ल्याकहरू निकालेर अवरोध खडा गरिएको थियो। त्यस्तै, लियोंमा निषेधित क्षेत्रमा भेला भएका १५० भन्दा बढी विद्यार्थीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

फ्रान्समा राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा प्रदर्शनले राजनीतिक बहससमेत तीव्र बनाएको छ। विपक्षी दलहरूले बढ्दो अशान्तिको जिम्मेवारी राष्ट्रपति म्याक्रोन र उनको मन्त्रिपरिषद्ले लिनुपर्ने बताएका छन्।

फ्रान्समा मात्र नभई शनिबार अल्बानियाको तिराना, बेल्जियमको ब्रसेल्स र इटालीको मिलानमा पनि महँगीविरुद्ध प्रदर्शन भएका थिए।

 

तपाईको प्रतिक्रिया