काठमाडौंमा प्रहरीको स्वीप अपरेसन : २४ घण्टामा ९२ जना पक्राउ
काठमाडौं। काठमाडौंमा प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’का क्रममा ९२ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ८४ जना पुरुष र आठ जना महिला छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको सुरक्षा अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन्।
प्रहरीले सार्वजनिकस्थल, सार्वजनिक यातायात, सरकारी कार्यालय आसपास तथा भीडभाड हुने क्षेत्रलाई लक्षित गरी निगरानी र जाँच तीव्र बनाएको जनाएको छ।
पक्राउ परेकामध्ये विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आशंका गरिएका व्यक्तिदेखि अदालतबाट दोषी ठहर भई फरार रहेका कसुरदारसमेत छन्।
फरार १३ कसुरदार पक्राउ
विशेष अभियानका क्रममा अदालतबाट दोषी ठहर भई दण्ड तथा सजाय तोकिएका १३ जना फरार कसुरदारसमेत पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार सार्वजनिकस्थलमा हातपात, होहल्ला, दुर्व्यवहार, चोरी, लुटपाट, बिचौलियाको गतिविधि तथा गुण्डागर्दी नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको हो।
नागरिकको आवतजावत बढी हुने बसपार्क, बजार क्षेत्र, सार्वजनिक यातायात तथा सरकारी कार्यालय आसपासमा प्रहरीको उपस्थिति र निगरानी बढाइएको उनले बताए।
प्रहरीले सार्वजनिकस्थलमा हुने आपराधिक गतिविधि नियन्त्रण, फरार कसुरदारको खोजी तथा नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यले विशेष सुरक्षा अभियानलाई निरन्तरता दिने जनाएको छ।
तपाईको प्रतिक्रिया