शनिबार ७ कार्तिक २०८३
बिश्वो

इरानलाई ट्रम्पको चेतावनी : सम्झौता नभए फेरि सैन्य अभियान चलाउने संकेत

शनिबार कार्तिक ७, २०८३/ Saturday 10-24-26

वासिङ्टन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सहमति हुन नसके पुनः सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन्। यद्यपि, उनले दुई देशबीच कूटनीतिक वार्तामार्फत सम्झौता हुने सम्भावना पनि खुला राखेका छन्।

शुक्रबार फ्लोरिडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग सम्झौता हुन नसके ‘एपिक फ्युरी’ जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सकिने बताएका हुन्।

“हामी फेरि एउटा सानो ‘एपिक फ्युरी’ जस्तो अभियान सञ्चालन गर्न सक्छौँ वा उनीहरूले सम्झौता गर्न सक्छन्,” ट्रम्पले भने।

उनले इरानले गम्भीर वार्ता गर्न चाहेको हो भने समझदारी देखाउँदै ठोस प्रस्ताव अघि सार्नुपर्ने बताए। तर, इरानले त्यस्तो प्रस्ताव ल्याउनेमा आफू विश्वस्त नरहेको उनको भनाइ थियो।

ट्रम्पले इरानको अर्थतन्त्र विश्वकै खराब अवस्थामध्ये एक रहेको दाबी गर्दै अमेरिकी आक्रमणबाट इरानले ठूलो क्षति बेहोरेको जिकिरसमेत गरे।

यसअघि शुक्रबार पनि ट्रम्पले अमेरिकाले इरानसँगको युद्ध छिट्टै अन्त्य गर्न सक्ने बताएका थिए। तर, द्वन्द्व तत्काल अन्त्य गर्ने प्रयास गर्ने वा क्रमशः मत्थर हुन दिने भन्ने विषयमा उनले प्रश्न उठाएका थिए।

ट्रम्पका पछिल्ला अभिव्यक्तिले इरानमाथि सैन्य दबाब कायम राख्दै वार्तामार्फत सम्झौता गर्ने विकल्पलाई अमेरिकाले खुला राखेको सङ्केत गरेको छ।

 

तपाईको प्रतिक्रिया