शनिबार ७ कार्तिक २०८३
खेलकुद

यु–१९ महिला विश्वकपको तयारीमा नेपाल, चीन र भारतमा खेल्ने

शुक्रबार कार्तिक ६, २०८३/ Friday 10-23-26

काठमाडौं । आइसिसी यु–१९ महिला टी–२० विश्वकपको तयारीका क्रममा नेपाली महिला क्रिकेट टोलीले चीन र भारतमा आयोजना हुने दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिअनुसार नेपालले नोभेम्बर ३ देखि ८ सम्म चीनमा हुने ‘बेल्ट एन्ड रोड यु–१९ गर्ल्स टी–२०आई’ प्रतियोगिता खेल्नेछ। प्रतियोगितामा नेपालसहित आयोजक चीन, थाइल्यान्ड र हङकङ सहभागी हुनेछन्।

त्यस्तै, नोभेम्बर १० देखि २२ सम्म भारतको बेङ्गलुरुमा हुने त्रिदेशीय शृङ्खलामा पनि नेपाली टोलीले प्रतिस्पर्धा गर्नेछ। उक्त शृङ्खलामा नेपालले भारत यु–१९ महिला ‘ए’ र ‘बी’ टोलीसँग खेल्ने क्यानले जनाएको छ।

यी दुवै प्रतियोगितालाई विश्वकपअघि नेपाली टोलीको तयारी र अन्तर्राष्ट्रिय अनुभव बढाउने अवसरका रूपमा लिइएको छ।

 

तपाईको प्रतिक्रिया