२५ मुख्य म्यानपावरमार्फत मात्रै नेपाली कामदार लिने मलेसियाको निर्णय
काठमाडौँ। मलेसिया सरकारले नेपालका सबै इजाजतप्राप्त म्यानपावर कम्पनीलाई आफ्नो देशमा नेपाली कामदार पठाउन अनुमति दिने नेपालको प्रस्ताव अस्वीकार गरेको छ।
मलेसियाको मानव संसाधन मन्त्रालयले युवा, श्रम तथा रोजगार मन्त्रालयलाई पठाएको पत्रमा सीमित म्यानपावर कम्पनीमार्फत मात्रै नेपाली कामदार भर्ना गर्ने पुरानै व्यवस्थालाई निरन्तरता दिने स्पष्ट पारेको हो।
नेपालले गत सेप्टेम्बर ११ मा कूटनीतिक नोट पठाउँदै र सेप्टेम्बर २४ मा दुई देशका मन्त्रीबीच भएको टेलिफोन वार्तामार्फत नेपालका सबै १ हजार ११४ सक्रिय म्यानपावर कम्पनीलाई मलेसियाको ‘फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’मा मुख्य एजेन्सीका रूपमा आबद्ध गराउन आग्रह गरेको थियो।
तर, मलेसिया सरकारले आफ्नो अडान परिवर्तन नगरी २५ वटा मुख्य (प्रिन्सिपल) म्यानपावर कम्पनी र प्रत्येक मुख्य कम्पनीअन्तर्गत १० वटा सहयोगी (एसोसिएट) कम्पनीमार्फत मात्रै नेपाली कामदार भर्ना गर्ने निर्णय लिएको पत्रमा उल्लेख छ।
मलेसियाले सीमित र कडा जाँचपास गरिएका म्यानपावर कम्पनीमार्फत कामदार भर्ना गर्दा अनैतिक भर्ती प्रक्रिया, सम्झौताविपरीतका गतिविधि, कामदारबाट असुलिने अत्यधिक शुल्क तथा श्रमिक शोषणजस्ता समस्या कम गर्न सकिने दाबी गरेको छ।
काठमाडौँस्थित मलेसियाली दूतावासमार्फत परराष्ट्र मन्त्रालय हुँदै श्रम मन्त्रालयलाई पठाइएको कूटनीतिक पत्रमा मलेसियाले नेपालसँगको ऐतिहासिक सम्बन्ध र द्विपक्षीय सहकार्यलाई उच्च महत्त्व दिने पनि उल्लेख गरेको छ।
तपाईको प्रतिक्रिया