बिहीबार १२ कार्तिक २०८३
समाज

दशैँ बिदापछि रगतको चरम अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह

बुधबार कार्तिक ११, २०८३/ Wednesday 10-28-26

काठमाडौँ ।बिरामीका लागि आवश्यक रगतको अभाव भएपछि नेपाल रेडक्रस सोसाइटीले सर्वसाधारणलाई रक्तदान गर्न आग्रह गरेको छ।

उपचारका लागि रगतको माग बढ्दै गएको तर रक्तसञ्चार केन्द्रमा मौज्दात घट्दै गएपछि रेडक्रसले रक्तदान गर्न अपिल गरेको हो।

रेडक्रसका अनुसार बडादशैँको लामो बिदाका कारण केन्द्रीय रक्तसञ्चार सेवामा नियमित रक्तदान कार्यक्रम सञ्चालन हुन नसक्दा रगतको अभाव भएको हो।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवले रक्तसञ्चार केन्द्रमा सबै रक्तसमूहको मौज्दात सकिएको जानकारी दिएका छन्। यसले गर्दा बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन कठिनाइ भइरहेको उनले बताए।

डा. यादवले पछिल्लो पटक रक्तदान गरेको तीन महिना पूरा भएका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका स्वस्थ युवायुवतीलाई रक्तदान गर्न आग्रह गरेका छन्।

यसैबीच, बुधबार असन सेवा समितिले असन टोल र सुन्धारामा रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग र काठमाडौँ महानगरपालिकाको विशेष सहकार्यमा आयोजित कार्यक्रममा स्थानीय बासिन्दाले रक्तदान गरेका छन्।

‘रक्तदान जीवनदान’ भन्ने सन्देशसहित आयोजित कार्यक्रममा सहभागीहरूले रक्तदानमार्फत बिरामीको जीवन बचाउने अभियानमा योगदान दिएका छन्।

नेपाल रेडक्रस सोसाइटीले देशका ७३ जिल्लामा रहेका १२० वटा रक्तसञ्चार सेवा केन्द्र तथा एकाइमार्फत सेवा प्रदान गर्दै आएको छ।

रगत आवश्यक परेमा वा रक्तदानसम्बन्धी जानकारी लिन केन्द्रीय रक्तसञ्चार सेवाको ०१–५३८८४८५ र ०१–५३८८४८६ मा सम्पर्क गर्न सकिने रेडक्रसले जनाएको छ। यसका साथै निःशुल्क हटलाइन नम्बर ११३० मा पनि सम्पर्क गर्न सकिनेछ।

 

तपाईको प्रतिक्रिया