एनपीएलमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा ४ चौका र २ छक्कासहित अविजित ५१ रन बनाए ।
त्यस्तै, इशान पाण्डेले ३१ बलमा ३७ रन जोडे । उनले २ चौका र २ छक्का प्रहार गरे । ब्रान्डन म्याकमुलनले १२ बलमा २२ रन बनाए भने शेरफेन रदरफोर्डले ४ बलमा अविजित ८ रन जोडे ।
पोखराका लागि धनञ्जय लक्षन, महेदी हसन, शाकिब अल हसन र कुशल भुर्तेलले एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो ।
पोखराका लागि अर्जुन घर्तीले सर्वाधिक ४० रन बनाए । उनले २५ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै अविजित रहे ।
महेदी हसनले २१ बलमा ३२ रन तथा कप्तान कुशल भुर्तेलले १७ बलमा २१ रन बनाए । शाकिब अल हसनले १४ र धनञ्जय लक्षनले ११ रन जोडे ।
सुदूरपश्चिमका लागि अनिल खरेलले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए । उनले ३ ओभरमा २३ रन खर्चिए । दीपेन्द्रसिंह ऐरी, स्कट कुगेलेइन र हेमन्त धामीले समान एक–एक विकेट लिए ।
तपाईको प्रतिक्रिया