काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै संगठनलाई निलम्बन गरिएको जनाएको हो।
मन्त्रालयका अनुसार सरकारी निर्देशनको पटक–पटक अवज्ञा गरेको र संस्थाको उद्देश्यविपरीत गतिविधि सञ्चालन गरेको पाइएपछि एन-प्याब्सनमाथि कारबाही गरिएको हो।
मन्त्रालयले संगठनका पदाधिकारीहरूले सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीत काम गरेको जनाएको छ। यसअघि मन्त्रालयले गत असोज २३ गते सम्बन्धित पक्षहरूलाई बोलाएर छलफलसमेत गरेको थियो। सो क्रममा मन्त्रालयले यसअघि जारी गरिएका निर्देशन पालना गर्न आग्रह गरेको थियो।
तर, निर्देशनहरूको निरन्तर उल्लंघन भएपछि राष्ट्रिय निर्देशन ऐन, २०१८ अनुसार कारबाही अघि बढाइएको मन्त्रालयले स्पष्ट पारेको छ।
राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम दिइएको निर्देशन पालना नगरेको भन्दै ऐनको दफा ६ को उपदफा (२) अनुसार एन-प्याब्सनलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।
मन्त्रालयले संगठन निलम्बनमा परिसकेकाले अब एन-प्याब्सनको नाममा कुनै पनि समूह वा गुटले गतिविधि सञ्चालन गर्न नपाउने जनाएको छ। निलम्बनको अवधिमा संस्थाको नाममा कुनै गतिविधि सञ्चालन गरे प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत मन्त्रालयले दिएको छ।
तपाईको प्रतिक्रिया