शनिबार १४ कार्तिक २०८३
माैसम

भारी वर्षा र हिमपातको पूर्वानुमान, उच्च हिमाली क्षेत्रमा नजान आग्रह

शनिबार कार्तिक १४, २०८३/ Saturday 10-31-26

काठमाडौँ । बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात र पश्चिमी वायुको आंशिक प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज अपराह्नदेखि अर्नब चक्रवातको प्रभाव क्रमशः कमजोर हुँदै जानेछ।

आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा तथा गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशी प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान छ।

कृषि कार्य नगर्न र हिमाली क्षेत्रमा नजान आग्रह

सम्भावित वर्षालाई ध्यानमा राख्दै महाशाखाले आज र भोलि धानबाली भित्र्याउनेलगायतका कृषि कार्य नगर्न आग्रह गरेको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ। साथै, पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान तथा त्यस्ता क्षेत्रमा पुगिसकेकालाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

वर्षाका कारण चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान तथा सडक छेउमा पहिरो खस्न सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया