शनिबार १४ कार्तिक २०८३
समाज

पत्रकार पक्राउको विरोधमा माइतीघरमा मौन प्रदर्शन

शनिबार कार्तिक १४, २०८३/ Saturday 10-31-26

काठमाडौँ।  पत्रकार पक्राउ तथा सञ्चारगृहमा प्रहरीले गरेको धरपकडको विरोधमा नेपाल पत्रकार महासंघको नेतृत्वमा माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ ।

निरन्तरको वर्षाका बीच पत्रकारहरूले प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारमाथि हुने धरपकड अन्त्य गर्न माग गर्दै मौन प्रदर्शन गरेका हुन् ।

शुक्रबार साँझ सादा पोसाकमा खटिएका प्रहरीले विभिन्न सञ्चारगृहमा पुगेर तीन जना पत्रकारलाई नियन्त्रणमा लिएका थिए । पक्राउ पर्नेमा पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराल र डीएनए अनलाइनका धीरज बस्नेत रहेका थिए ।

पत्रकार पक्राउको घटनापछि सञ्चारकर्मी तथा प्रेस स्वतन्त्रताका पक्षधरहरूले विरोध जनाएका थिए । घटनाको चौतर्फी आलोचना भएपछि प्रहरीले नियन्त्रणमा लिएका तीनै जनालाई शुक्रबार राति रिहा गरेको थियो ।

पत्रकारहरूले प्रेस स्वतन्त्रताको सम्मान गर्न, पत्रकारलाई निर्बाध रूपमा समाचार संकलन तथा सम्प्रेषण गर्ने वातावरण सुनिश्चित गर्न र सञ्चारमाध्यममाथि हुने हस्तक्षेप रोक्न माग गरेका छन् ।

 

तपाईको प्रतिक्रिया