डिडिसीलाई १२ करोडभन्दा बढी नोक्सानी पुर्याएको आरोपमा पूर्वमहाप्रबन्धकसहित आठ पक्राउ
काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) लाई १२ करोड रुपैयाँभन्दा बढी आर्थिक नोक्सानी पुर्याएको आरोपमा नेपाल प्रहरीले संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आपराधिक विश्वासघात तथा सङ्गठित अपराधमा संलग्न रहेको आरोपमा तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित आठ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा झासहित जुनियर टेक्निकल असिस्टेन्ट विजयकुमार यादव, भक्तपुर चिस्यान केन्द्रका तत्कालीन प्रमुख मनहरि शर्मा र चनौली चिस्यान केन्द्रका तत्कालीन प्रमुख रामकेवल राय रहेका छन्।
त्यसैगरी, हेटौँडास्थित धुलो दूध कारखानामा कार्यरत जीतेन्द्रकुमार यादव, नवलपुर चिस्यान केन्द्रका नवीनराय यादव, माडी चिस्यान केन्द्रका शिवनन्दन राय र माडी चिस्यान केन्द्रका प्रमुख वीखबहादुर भण्डारी पनि पक्राउ परेका छन्।
सीआईबीका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार प्रारम्भिक अनुसन्धानबाट योजनाबद्ध रूपमा आपसी मिलेमतो गरी विभिन्न समूह गठन गरेर संस्थानलाई आर्थिक नोक्सानी पुर्याएको देखिएको छ।
प्रहरीका अनुसार उक्त कार्यबाट संस्थानलाई १२ करोड १३ लाख ४३ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको र सोही परिमाणमा गैरकानुनी लाभ लिइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आपराधिक विश्वासघात तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतका कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंको अनुमति लिएर पक्राउ गरिएको सीआईबीले जनाएको छ।
तपाईको प्रतिक्रिया