शनिबार १४ कार्तिक २०८३
राजनीति

समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिलको आपत्ति

शुक्रबार कार्तिक १३, २०८३/ Friday 10-30-26

काठमाडौं । विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालले आपत्ति जनाएको छ।

काउन्सिलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षभित्रै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको घटनाको कडा शब्दमा भर्त्सना गरेको हो।

काउन्सिलका अनुसार पत्रकारलाई नियन्त्रणमा लिने क्रममा पक्राउ गर्नुको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको तथा अदालतको अनुमति लिएकोसमेत नदेखिएको अवस्थामा प्रहरी परिचालन गरिएको थियो। घटनासम्बन्धी जाहेरी परेको विषय पनि स्पष्ट नभएको विज्ञप्तिमा उल्लेख छ।

लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि कार्यालय समय सकिएपछि समाचार कक्षमै पुगेर पत्रकारलाई नियन्त्रणमा लिन खोज्नु गम्भीर विषय भएको काउन्सिलले जनाएको छ। प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि प्रश्न उठाएको काउन्सिलको ठहर छ।

समाचार सामग्रीप्रति असहमति वा पत्रकार आचारसंहितासम्बन्धी उजुरी भए त्यसको छानबिन, अनुगमन तथा निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको रहेको विज्ञप्तिमा स्मरण गराइएको छ।

समाचारको विषयलाई लिएर प्रहरी परिचालन गर्नुभन्दा काउन्सिलको स्थापित विधि र प्रक्रियामार्फत समस्या समाधान गर्न काउन्सिलले सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

 

तपाईको प्रतिक्रिया