'प्लाज्मा थेरापीबाट काेराेना संक्रमितकाे उपचार सम्भव छ, संक्रमितले रक्तदान गरौ'
काेराेना भाईरस अर्थात काेभिड १९ ले विश्वभर ताण्डव नृत्य मच्चाउन सुरु गरेकाे १० महिना पुग्याे। चीनबाट सुरु भई विश्वभर महामारीकारुपमा फैलिएकाे काेराेना भाईरसका कारण अहिले सम्ममा ९ लाख ५७ हजार भन्दा बढिले ज्यान गुमाईसकेकाे अवस्था छ। हालसम्म विश्वभर काेराेना संक्रमितकाे संख्या ३ करोड भन्दा बढि पुगेकाे छ। नेपालमा पनि काेराेना भाईरसकै कारण ६१ हजार ५ सय ९३ संक्रमित भैसकेका छन् भने ३ सय ९० जनाकाे ज्यान गैसकेकाे छ। काेराेना भाईरसकाे वास्तविक कारण र यसकाे सहि उपचार के हाे? भन्ने कुरानै विश्वका लागि अहिले प्रमुख चुनौतिकाे विषय बनेकाे छ। पछिल्लाे समय प्लाज्मा थेरापीकाे उपचारका बारेमा केही नयाँ तथ्यहरु प्राप्त भएका छन्। विश्वका धेरै मुलुकमा चिकित्सकहरुले प्लाज्मा थेरापीबाट काेराेनाकाे उपचार सम्भव हुने बताईरहेका छन् र नेपालमा पनि प्लाज्मा थेरापीबाट उपचार सुरु भएकाे छ। प्लाज्मा थेरापी के हो? यसबाट काेराेनाकाे उपचार सम्भव छ वा छैन? प्लाज्मा थेरापी कसरी गरिन्छ यीलगाएतका विषयमा नेपालमा पहिलाे पटक प्लाज्मा थेरापीबाट काेराेना संक्रमितकाे उपचारमा संलग्न रक्तसंचार विज्ञ डा. विपिन नेपालसंग देश दैनिकका लागि शान्ति थापाले गरेकाे कुराकानीकाे सम्पादित अंश:
प्लाज्मा भनेको के हो?
हाम्रा शरिरमा पाईने रगत विभिन्न पदार्थहरुबाट मिलेर बनेकाे हुन्छ। जसमा प्लाज्माकाे मात्रा मात्रै ५५ प्रतिशत हुने गर्छ भने बाँकि ४५ प्रतिशत राताे रक्तकाेष, सेताे रक्तकाेष र प्लेटलेट्सकाे मात्रा रहेकाे हुन्छ। प्लाज्मा भनेको एक प्रकारको तरल पदार्थ हो। जसमा लगभग ९० % पानी, नुन, पोषण तत्वहरु र विभिन्न रासायनिक तत्त्वहरू रहेका हुन्छन् जसले हाम्रो शरीरलाई तन्दुरुस्त र स्वस्थ्य राख्ने काम गर्दछ।
हाम्राे शरिरमा प्लाज्मा को मुख्य भुमिका के हुन्छ?
प्लाज्माले हाम्राे शरिरमा राेग विरुद्ध लड्न सक्ने एन्टिबडिजकाे उत्पादन गर्ने काम गर्छ । हाम्राे शरिरमा भाईरस ब्याक्टेरिया वा अन्य केही संक्रमण भएमा एन्टिबडिज आफै उत्पादन हुन्छ र त्यसैले राेग विरुद्ध लड्ने प्रतिराेधात्मक क्षमताकाे विकास गर्छ र संक्रमणलाई निस्तेज पार्ने काम गर्छ।
प्लाज्मा थेरापी भनेको के हो?
सामान्य भाषामा भन्नुपर्दा प्लाज्मा थेरापी भनेको एक प्रकारको उपचार विधी हो। यस विधिमा रगतमा भएका सेतो रक्तकोष, रातो रक्तकोष,प्लेटलेट्स र प्लाज्मालाई छुट्याएर राखिन्छ । त्यही छुट्याएर राखेकाे प्लाज्मालाई बिरामीको अवस्था अनुसार प्लाज्मा ट्रान्स फ्यूजन गर्ने प्रक्रियालाईनै प्लाज्मा थेरापी भनिन्छ । प्लाज्मा थेरापी पनि तीन प्रक्रियामा गरिन्छ । जस्तै कुनैपनि बिरामीको शरीरमा रगत जमाउने तत्वहरूको कमी भएमा उक्त तत्वहरु को मात्रा पुरा गर्नको लागि रगत जमाउने तत्वहरु प्लाज्मा थेरापीबाट दिइन्छ। यदी कुनै बिरामीको शरीरमा भएका तत्वहरूको मात्रा कम छ भने उक्त तत्वहरु पुरा गर्नको लागि पनि प्लाज्मा दिइन्छ जसलाई हामी प्लाज्मा फेरिसिस भन्छौं।
के केराेना संक्रमितकाे उपचार प्लाज्मा थेरापीबाट सम्भव छ त?
प्लाज्मा थेरापीबाट गरिने उपचार विधी याे नौलाे विधी हाेईन। अन्य राेगकाे उपचारमा पनि प्लाज्मा थेरापि गरिन्छ । हामीले नेपालमा काेभिड १९ का बिरामीका लागी गर्ने प्लाज्मा थेरापिलाई काेन्भाल्सेन्ट प्लाज्मा थेरापी भन्ने गरिन्छ। यस विधीमा कुनै पनि व्यक्ति काेराेनाबाट संक्रमित भैसकेपछी संक्रमितकाे शरिरमा राेग विरुद्ध लड्न सक्ने एन्टीबडिज्काे उत्पादन भएकाे हुन्छ। संक्रमित व्यक्ति निकाे भैसकेपछी उक्त व्यक्तिले रक्तदान गर्नु पर्ने हुन्छ । त्यही रगतबाट प्लाज्मा छुट्याएर उक्त प्लाज्मामा भएका एन्टीबडिजहरु अर्काे काेराेना संक्रमितलाई दिईन्छ। यसले संक्रमितकाे शरिरमा नयाँ एन्टिबडिजकाे उत्पादन गर्छ र राेग प्रतिराेधक क्षमता बढाउँछ। विश्वभर काेराेनाभाईरसकाे उपचारमा गरिने प्लाज्मा थेरापी यहिनै हाे।
तर यसका लागी काेराेना संक्रमित भएर सञ्चाे भएकाहरुले रक्तदान गर्नु पर्ने हुन्छ। यहाँ समस्या कहाँ छ भने संक्रमण पछी निकाे भएकाहरु रक्तदान गर्नै मान्दैनन्। जसले गर्दा अन्य विरामीहरुलाई उपचार गर्नको लागि हामीलाई समस्या परेको छ । काेराेना संक्रमित भएर निकाे भएका सबैलाई म रक्तदान गरेर अरुकाे ज्यान बचाउन आग्रह गर्दछु। निकाे भैसकेकाहरुमा एन्टिबडिजकाे विकास भैसकेकाे हुन्छ उहाँहरुले रक्तदान गर्दा अन्य आईसियुमा वा भेन्टिलेटरमा बसेका बिरामीलाई जाेखिमबाट बचाउन सकिन्छ। म उहाँहरुलाई के आग्रह गर्न चाहान्छु भने आफ्नाे उत्तरदायित्व बुझ्नुहाेस्। आफु मृत्युकाे मुखबाट बञ्चन सफल हुनुभयाे अरुलाई पनि मृत्युकाे मुखबाट बचाउने प्रयास गर्नुहाेस्।
कोरोनाबाट संक्रमित भएका विरामीहरुले कहिले गर्ने त रक्तदान?
सामान्यतया कोरोना बाट संक्रमित भएका विरामीहरुले कोरोनाका पिसिआर जाँच गरिसकेपछि रिपोर्ट नेगेटिभ आएको १४ दिनपछि दुई वा तीन महिनाभित्र रक्तदान गर्न मिल्छ।
(डा. विपिन नेपाल ग्रान्डी ईन्टरनेशनल हस्पिटलमा कार्यरत रक्त संचार विज्ञ हुन् । )
तपाईको प्रतिक्रिया