आइतबार २३ बैशाख २०८१
बिजनेस

खप्तड क्षेत्र विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

मंगलबार जेठ २३, २०८०/ Tuesday 06-06-23

डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रको समग्र विकासका लागि सरकारले नयाँ परियोजनामार्फत् अगाडि बढ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्। 

खप्तडमा मंगलबारदेखि सुरु भएको प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्दै सो कुरा बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले खप्तड क्षेत्र डोटी, अछाम, बझाङ र बाजुराको संगम स्थलका रूपमा रहेको र यो सुदूरपश्चिमको प्रमुख पर्यटकीय केन्द्र रहेकाले यसको विकासका लागि नयाँ परियोजना सञ्चालन गरेर सरकार अगाडि बढ्ने बताए। 

‘प्रकृतिले दिएको यो अनुपम क्षेत्रको विकासका लागि छुट्टै खप्तड क्षेत्र विकास कोष वा प्रतिष्ठान बनाएर नयाँ परियोजनाबाट विकासका काम अगाडि बढाउने छौं,' उनले भने, ‘यो क्षेत्रलाई पर्यावरणमैत्री बनाउँदै पर्यटन र आध्यात्मिक केन्द्रको रूपमा विकास गर्नुपर्छ।’

उनले खप्तड क्षेत्र प्रकृति र आध्यात्मिकताको संगम क्षेत्र रहेकाले सुदूरपश्चिमको लागि यो आर्थिक समृद्धिको केन्द्र हुनसक्ने बताए। भारतलगायत विभिन्न देशका प्रतिनिधिको उपस्थिति रहेकाले खप्तडको महत्व अन्तर्राष्ट्रिय स्तरमा स्थापित भएको प्रधानमन्त्रीले बताए।

तपाईको प्रतिक्रिया