शनिबार १२ श्रावण २०८१
खेलकुद

अमेरिकाले रच्यो इतिहासः सुपरओभरमा पाकिस्तान ५ रनले पराजित

शुक्रबार जेठ २५, २०८१/ Friday 06-07-24

काठमाडौँ । टी–२० विश्वकपमा समूह ए अन्तर्गतको खेलमा अमेरिकाले पाकिस्तानविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । सुपर ओभरमा पाकिस्तान ५ रनले पराजित भएको हो । 

सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले १८ रन बनाएको थियो । एरोन जोन्सले ११ रन बनाउँदा मोहम्मद आमिरले ७ रन अतिरिक्त रनका रूपमा उपहार दिएका थिए । जवाफमा पाकिस्तानले एक विकेट गुमाएर १३ रन मात्र बनाउन सक्यो ।

जारी विश्वकपमा कुनै पनि एसोसिएट्स सदस्य राष्ट्रले टेस्ट राष्ट्रलाई हराएको यो पहिलो पटक हो । पाकिस्तान टी–२० विश्वकपको पूर्वविजेता पनि हो । पाकिस्तानले सन् २००९ मा सम्पन्न टी–२० विश्वकपको दोस्रो संस्करणको उपाधि जितेको थियो ।

टी–२० विश्वकपमा अमेरिकाको भने यो पहिलो सहभागिता हो । आयोजक राष्ट्रको हैसियतमा विश्वकपमा टोली सहभागी बनेको हो ।

प्रतियोगितामा आयोजक अमेरिकाको यो लगातार दोस्रो जित हो । अमेरिकाले यसअघि आफ्नो पहिलो खेलमा छिमेकी प्रतिद्वन्द्वी क्यानडालाई सात विकेटले पराजित गरेको थियो । दोस्रो जितपछि ४ अंक बटुल्दै टोली समूहको शीर्ष स्थानमा पुगेको छ ।

यो विश्वकपमा सुपर ओभरबाट खेलको निर्णय भएको दोस्रो अवसर हो । यसअघि गत जेठ २१ गते समूह बी अन्तर्गत नामिबिया र ओमानबिचको खेल सुपर ओभरमा पुगेको थियो । उक्त खेलमा नामिबिया विजयी बनेको थियो ।

आजको खेलमा पाकिस्तानले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ५९ बनायो । दुवै टोलीको स्कोर समान भएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

अमेरिकाका लागि कप्तान मोनांक पटेलले अर्धशतकीय इनिङ्स खेले । ३८ बलको सामना गर्दै उनले ७ चौका र १ छक्का हिर्काए । 

त्यस्तै, एरोन जोन्सले नटआउट रहँदै २६ बलमा ३६ रन जोडे । उनले २ चौका र २ छक्का प्रहार गरे । एन्ड्रियस गाउसले २६ बलमा ३५ रनको योगदान दिए । नितिश कुमारले १४ बलमा १४ रन बनाए । पाकिस्तानका लागि मोहम्मद आमिर, नसिम शाह र ह्यारिस राउफले १–१ विकेट लिए ।पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ४३ बलमा ४४ रनको योगदान दिए । उनले ३ चौका र २ छक्का हिर्काए ।

सदाब खानले २५ बलमा ४० रनको योगदान दिए । उनले एक चौका र ३ छकका प्रहार गरे । शाहिन शाह अफ्रिदीले १६ बलमा २३ रन जोडे ।

अमेरिकाका लागि नोस्थुस केन्जिंगेले ३ विकेट लिए भने सौरभ नेत्रभाल्करले २ विकेट हात पारे । अली खान र जस्दीप सिंहले १–१ विकेट लिए ।

तपाईको प्रतिक्रिया