शुक्रबार २ कार्तिक २०८१
समाज

सार्वजनिक यातायातमा महिला स्वास्थ्य स्वयंसेविकाले निःशुल्क यात्रा गर्न पाउने

शुक्रबार कार्तिक २, २०८१/ Friday 10-18-24

काठमाडौं । महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो कामका बेला निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा यातायात व्यवसायीहरूले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन् । 

विपद् प्रभावित काभ्रेको रोशी क्षेत्रका महिला स्वास्थ्य स्वयंसेविकासँग सेवाको कदरस्वरूप यातायात निःशुल्क बनाउने काममा लागिरहेको भन्दै केही समयमा नतिजा आउने घोषणा मन्त्री पौडेले गरेका थिए ।

मन्त्री पौडेलले यातायात व्यवसायी राष्ट्रिय महासंघसँग न्यून सुविधामा आम मातृ शिशु तथा समुदायको स्वास्थ्य सेवाका लागि लामो समयदेखि प्रयत्नरत रहेको भन्दै उनीहरूलाई कामका सिलसिलामा हुने यातायात निःशुल्क गरिदिन आग्रह गरेका थिए ।

मन्त्रालयमा स्वास्थ्य मन्त्री प्रदीप पौडेलको उपस्थितिमा यससम्बन्धी समझदारी समेत भएको छ । कार्तिक १५ गतेबाट यस्तो व्यवस्था लागू गर्न मन्त्री पौडेलले गरेको आग्रहमा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सहमति जनाएका हुन्।

सो क्रममा मन्त्री पौडेलले महिला स्वास्थ्य स्वयंसेविकाहरूले देशको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको भूमिकालाई सम्मान गर्न यो निर्णय महत्वपूर्ण रहेको बताए मन्त्री पौडेलले स्वास्थ्य स्वयंसेविकाहरूलाई थप सहयोग गर्नका लागि के गर्न सकिन्छ भनेर आफूहरु चिन्तित रहेको समेत बताए।

 

तपाईको प्रतिक्रिया