आइतबार ११ कार्तिक २०८१
राजनीति

गैरआवासीय नेपालीका कारण हाम्रो राष्ट्रियता बलियो बनेको छ : गृहमन्त्री लेखक

आइतबार कार्तिक ११, २०८१/ Sunday 10-27-24

काठमाडौँ । गृहमन्त्री रमेश लेखक गैरआवासीय नेपाली नेपालका अवैतानिक राजदूत भएको बताएका छन् । गैर आवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभा कार्यक्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो बनाएको बताएका हुन् ।

गैर आवासीय नेपालीको उद्देश्य नेपालको आर्थिक उन्नति भएको भन्दै संसारमा नेपालीहरूले उत्कृष्ट काम गरिरहेको गृहमन्त्री लेखकले बताए । ‘त्यो उत्कृष्टता नेपालका लागि पनि काम लाग्नुपर्छ । तपाईंको अनुभव र शिक्षा नेपालका लागि उपयोग गर्नुपर्छ । त्यसका लागि हामी वातावरण बनाउन लाग्छौँ,’ उनले भने ।

‘नेपालका लागि केही गर्न उद्देश्य राख्नुभएको छ । जुन देशको नागरिक भए पनि नेपाली हुँ भनिराख्नु भएको छ,’ उनले भने, ‘गैर आवासीय नेपाली अवैतानिक राजदूत हुनुहुन्छ । तपाईंहरु रहेको देशमा तपाईंको अनुहार र व्यवहारमा नेपाल देख्छन् । तपाईंले संसार फैलिँदा नेपालको राष्ट्रियता बलियो बनाएको छ ।’

यस्तै गैर आवासीय नेपालीको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारको सम्बोधन गर्न सरकार कानुन संशोधनको तयारीमा रहेको गृहमन्त्री लेखकले बताए । 

तपाईको प्रतिक्रिया