बिहीबार १ फाल्गुण २०८१
बिश्वो

मेक्सिको र क्यानडालाई कर लगाउने ट्रम्पको निर्णय तत्काललाई स्थगित

टेलिफोन वार्तापछि ३० दिनका लागि पछि हट्यो अमेरिका
मंगलबार माघ २२, २०८१/ Tuesday 02-04-25

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडामाथि २५ प्रतिशत कर लगाउने आफ्नो योजना स्थगित गर्ने घोषणा गरेका छन्। ट्रम्पले आफ्नो आदेश ३० दिनका लागि स्थगित गरेका हुन् ।

क्यानडा र मेक्सिकोले सीमामा सुरक्षा सुधार गर्न र लागूपदार्थ तस्करी विरुद्ध कारबाही गर्ने वाचा गरेपछि अमेरिकाले यो निर्णय गरेको हो। ट्रम्पले कर लगाउने घोषणा गरेपछि दुवै देशले प्रतिशोधात्मक कारबाहीको बारेमा कुरा गरेका थिए।

क्यानडाले सीमापार फेन्टानिल लागूऔषधको तस्करी रोक्ने प्रयासहरूको निरीक्षण गर्न एक अधिकारी नियुक्त गर्ने बताएको छ। ट्रम्पसँग भएको सम्झौता अन्तर्गत मेक्सिकोले पनि आफ्ना १० हजार सैनिक सीमामा पठाउन सहमत भएको छ। ट्रम्प र छिमेकी देशका नेतृत्वबीच फोनमा वार्ता भए पछि यो निर्णय ३० दिनका लागि स्थगित भएको हो।

ट्रम्प र चिनियाँ अधिकारीबीच भने अहिलेसम्म वार्ता भएको छैन। ती दुई देश बीचको नेतृत्वको पनि तत्काल वार्ता हुने अनुमान गरिएको छ। ट्रम्पले चीनसँग सहमति नभए अहिले निर्णय गरिएको थप १० प्रतिशत अतिरिक्त करको निर्णय भन्दा बढीको करको निर्णय हुनसक्ने बताएका छन्।

अमेरिकाको व्यापार युद्ध तत्कलका लागि उत्तर अमेरिकी छिमेकीसँग रोकिए पनि युरोपेली युनियन र बेलायतसँग अब कता जाने भन्ने चासो भने थपिएको छ। ट्रम्पबाट यो निर्णय गर्नु भन्दा अगाडि क्यानडा र अमेरिकाको बीचमा तल्लो तहमा नै पुगेर आलोचना भएको थियो।

क्यानडाको श्रम सङ्गठन युनिफोरको प्रमुख तथा प्रधानमन्त्री जस्टिन ट्रेडेउको निकटस्थ लाना पायनाले ३० दिनका लागि स्थगित भए पनि त्यस पछिको निर्णयमा चासो रहेको बताएकी छिन्।

तपाईको प्रतिक्रिया