
काठमाडौँ । राजस्व संकलनका लागि महत्वपूर्ण भूमिमा रहने भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशक फेरिएका छन् । अर्थ मन्त्रालयले बुधबार बेलुकी सार्वजनिक गरेको सूची अनुसार १४ जना सहसचिवको सरुवा र कार्यविभाजन गर्ने क्रममा राजस्व विभागका प्रमुखको सरुवा तथा हेरफेर गरेको हो ।
भन्सारको महानिर्देशकमा महेश भट्टराई र आन्तरिक राजस्वको महानिर्देशकमा मदन दहाललाई सरुवा गरिएको छ । उनीहरू दुवै जना अर्थ मन्त्रालयमा कार्यरत थिए । दहाल अर्थको प्रशासन प्रमुख र भट्टराई योजना अनुगमन तथा मुल्यांकन महाशखा प्रमुख एवं प्रवक्ता थिए ।
मन्त्रिपरिषद्ले सोमबार भन्सार महानिर्देशक हरिशरण पुडासैनी र आन्तरिकका महानिर्देशक रामप्रसाद आचार्यलाई सरुवा गरेको थियो । उनीहरू दुवैलाई महानिर्देशक बनेको ६ महिनामा सरुवा गरिएको थियो ।
भन्सार महानिर्देशकमा सरुवा गरिएका भट्टराईलाई अर्थका जानकारको रुपमा हेरिने गरेको छ । यस अघि उनले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुख प्रशासक र राष्ट्रिय योजना आयोगमा काम गरिसकेका छन् । दहालले भने यसअघि राजस्व अनुसन्धान विभाग र वैदेशिक रोजगार विभागको महानिर्देशक भएर काम गरेका छन् । दहाललाई २०७८ कात्तिकमा राजस्व अनुसन्धानको महानिर्देशकको जिम्मेवारी दिएकोमा तीन महिनामा फिर्ता गरिएको थियो ।
मन्त्रालयले त्रिभुवन विमानस्थलका प्रमुख भन्सार प्रशासक महेश बराललाई अर्थ मन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखा प्रमुखमा सरुवा गरिएको छ । विमानस्थल प्रमुख रिक्त भएको छ । आन्तरिक राजस्व विभागका उपमहानिर्देशक सेवन्तक पोखरेललाई अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन तथा समन्वय महाशाखा प्रमुखमा सरुवा गरिएको छ भने र गोपी कृष्ण कोइरालालाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुखमा सरुवा गरिएको छ ।
सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र प्रमुख शोभाकान्त पौडेललाई अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखमा सरुवा गरिएको छ । पौडेललाई भन्सार विभागको महानिर्देशकबाट ६ महिना अघि तालिम केन्द्रमा पठाइएको थियो । उनलाई पनि अर्थका जानकार मध्येका सहसचिव मानिने गरेका छ ।
अर्थको पृष्ठभूमि भएका तीर्थराज चिलुवाललाई आन्तरिक राजस्वको उपमहानिर्देशकमा सरुवा गरिएको छ । उनलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारीबाट अर्थ मन्त्रालय ल्याइएको थियो । अर्थको वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख थानप्रसाद पंज्ञानीलाई प्रशासन महाशाखा प्रमुखमा सरुवा गरेको छ । अर्थका आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्यलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा गरेको छ ।
महिला आयोगबाट सरुवा गरिएकी पार्वती अर्याललाई प्रमुख भन्सार परीक्षण प्रशासक, भन्सार जाँचपासपछीको परीक्षण कार्यालय(पीसीए) प्रमुखको जिम्मेवारी दिइएको छ । भन्सार विभागकी उपमहानिर्देशक यमुना प्रधानलाई सहमहालेखा नियन्त्रकमा सरुवा गरिएको छ । उनको स्थानमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुख रहेका अमृत लम्साललाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरिएको छ ।
सहमहालेखा नियन्त्रक श्याम प्रसाद भण्डारीलाई अर्थ मन्त्रालयको अनुगमन तथा मुल्यांकन महाशाखा प्रमुखमा सरुवा गरिएको छ । सूचना प्रविधि विज्ञ श्रीचन्द्र साहलाई आन्तरिक राजस्व विभागमा सरुवा गरिएको छ । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट अर्थमा ल्याइएको थियो ।
यसअघि सोमबार मन्त्रिपरिषद्ले १७ जना सहसचिवको सरुवा गरेको थियो । सरुवाका क्रममा कतिपय सहसचिवलाई अर्थ बाहिर पठाइएको थियो भने केहीलाई बाहिरबाट मन्त्रालय भित्र्याइएको थियो । सरुवाका क्रममा अर्थ विषयविज्ञलाई असवन्धित स्थानमा पठाइएको थियो ।
तपाईको प्रतिक्रिया