पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक चार्टर्ड उडान हुने

काठमाण्डौ ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदो चैत ५ गते चीनको छेन्दुसम्म पहिलो व्यावसायिक चार्टर्ड उडान हुने भएको छ । विमानस्थल उद्घाटन भएको दुई वर्षपछि व्यावसायिक चार्टर्ड उडान हुन लागेकाो पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहरीले जानकारी दिनुभयो ।
यसमा विशेषतः चीनको चाइना ट्राभल्स इन्टरनेशनल छेन्दुले शुरुआती उडानहरूमा सहकार्य गरिरहेको बताउँदै उहाँले नेपालको चाइनिज ओभरसिज एशोसिएशनको पनि संयोजनकारी भूमिका रहेको जानकारी दिनुभयो । यो उडानले पोखरा र समग्र गण्डकी प्रदेशकै पर्यटन चलायमान हुने विश्वास छ ।
शुरुआती चरणमा केही व्यावसायिक चार्टर्ड उडानबाट शुरू गरेर यसलाई व्यावसायिक उडानमा परिणत गर्न पोखरा पर्यटन परिषद् र समग्र पर्यटन व्यवसायीहरू निरन्तर प्रयासमा लागिरहेका छन् । ठूलो जनसङ्ख्या रहेको चीनबाट पर्यटक भित्र्याउन सकेमा त्यसले पोखरासहित समग्र नेपालको पर्यटनमा महत्त्वपूर्ण योगदान पुग्ने छ ।
उडानको तालिका अनुसार चैत ५ गते छेन्दुबाट बिहान १० बजे एक सय २७ जना चिनियाँ यात्रु लिएर विमान पोखरा विमानस्थल अवतरण गर्नेछ । दिउँसो १२ बजे एक सय २७ जना पर्यटन व्यवसायी पोखराबाट छेन्दु प्रस्थान गर्नेछन् ।
विमानस्थल सञ्चालनको दुई वर्षसम्म पनि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा पहिलो पटक हुन लागेको व्यवसायिक चार्टर्ड उडान महत्त्वपूर्ण रहेको छ ।
तपाईको प्रतिक्रिया