आइजिपी दीपक थापाले पाए दर्ज्यानी चिन्ह
सशक्त प्रस्तुत हुने आईजीपी थापाको घोषणा
काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले थापालाई फुली लगाइदिएका हुन् ।
सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । नियुक्तिसँगै थापा नेपाल प्रहरीको ३१औँ आईजीपी बनेका छन् ।
उनीसँगै आईजीपी हुने प्रतिस्पर्धामा सुदीप गिरी र टेकबहादुर तामाङ थिए । ३ जना प्रतिस्पर्धी मध्ये वरियतामा थापा एक नम्बरमा थिए । २०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका थापा करिब ६ महिना प्रहरीको नेतृत्वमा रहन्छन् ।
दर्ज्यानी चिह्न ग्रहण गरेपछि महानिरीक्षक थापाले आफूले पहुँचको नभई पद्धतिको थिति बसाल्ने बताए । उनले अपराधको रोकथाम र अनुसन्धान कुनै पनि बहानाबिना अघि बढाउने प्रतिबद्धता जनाए । देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाएर नागरिकमा अमन चयन र कानुनी राज्यको प्रत्याभूति दिलाउन आफूले पहल गर्ने बताए ।
नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले सेवामा रहँदासम्म सशक्त रुपमा प्रस्तुत हुने बताएका छन् ।
कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीको श्रीवृद्धि गराउँदै मुलुकको शान्ति, सुरक्षा, सुव्यवस्था, सुशासन र अमन चयन कायम गरी सुखी नेपाली र समृद्ध नेपालको लक्ष्यका लागि काम गर्न आग्रह गरे । उनले आफ्नो जिम्मेवारीलाई निष्ठापूर्वक, इमान्दारितका साथ पूरा गर्ने विश्वास व्यक्त गरे ।
तपाईको प्रतिक्रिया