सोमबार ४ चैत २०८१
विचार

संसदीय मर्यादा खस्किँदै

आइतबार चैत ३, २०८१/ Sunday 03-16-25

नीति निर्माण, गम्भीर छलफल र देशको समस्यामा बहस हुनुपर्ने थलो व्यक्तिगत आक्रमण, अमर्यादित टिप्पणी र विवादास्पद अभिव्यक्तिको अखडा बन्दै गएको छ

नेपालको संघीय संसद फेरि एक पटक असभ्य अभिव्यक्ति र व्यक्तिगत कटाक्षको मञ्च बन्न पुगेको छ। आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले)का सांसद रघुजी पन्त र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीबीच भएको भनाभनले संसदीय गरिमालाई प्रश्नचिह्न लगाइदिएको छ। नीति निर्माण, गम्भीर छलफल र देशको समस्यामा बहस हुनुपर्ने थलो व्यक्तिगत आक्रमण, अमर्यादित टिप्पणी र विवादास्पद अभिव्यक्तिको अखडा बन्दै गएको छ।

सांसद रघुजी पन्तले राजतन्त्रकालीन घटनाहरू उल्लेख गर्दै तत्कालीन राजा वीरेन्द्रको व्यक्तिगत जीवनबारे आपत्तिजनक टिप्पणी गरेपछि बैठक तनावग्रस्त बन्यो। उनले राजा वीरेन्द्रले भारतको कोलकातामा विभिन्न स्त्रीहरूसँग सम्बन्ध राखेको दाबी गर्दै भारतीय प्रधानमन्त्रीले समेत त्यसबारे असन्तोष व्यक्त गरेको कथित घटना सुनाए। यो अभिव्यक्ति संसदकै गरिमामा प्रहार गर्ने खालको मात्र नभई ऐतिहासिक रूपमै विवादास्पद थियो। उनका यी शब्दहरूप्रति असहमति जनाउँदै सांसद शाहीले नियमापत्ति उठाए, तर पन्तले झन् उत्तेजित हुँदै उनलाई इतिहास पढेर आउन सुझाव दिए। अझ बढी उत्तेजित हुँदै उनले “जुम्लाबाट हाउ गरेर आएको जस्तो होइन” भन्ने अमर्यादित टिप्पणी गरे। संसदमा नीति निर्माणको छलफल हुनुपर्नेमा सांसदहरू एकअर्कालाई अपमानित गर्न उद्दत हुनु गम्भीर चिन्ताको विषय बनिसकेको छ।

यो कुनै पहिलो घटना होइन। विगतमा पनि पटक–पटक सांसदहरू बीच यस्तै प्रकारका अभिव्यक्तिहरू संसदमा गुन्जिएका छन्। कहिले कड्किएको स्वरमा गालीगलौज हुन्छ, कहिले व्यक्तिगत आरोप–प्रत्यारोप त कहिले माइक तानातानसम्मका घटनाहरू संसदमा घटिसकेका छन्। केही वर्षअघि संसदमा हात हालाहालसम्मको स्थिति सिर्जना भएको थियो। बजेट छलफलका क्रममा केही सांसदहरूबीच झडप भएको थियो भने केहीले त माइक नै फाल्ने प्रयास गरेका थिए। संसदीय इतिहासमा यस्तो घटना एक वा दुई पटक मात्र नभई पटक–पटक दोहोरिएको छ, जसले संसदलाई हल्का बनाउने काम गरिरहेको छ।

संसदीय मर्यादा खस्किँदै जानुका पछाडि राजनीतिक असहिष्णुता प्रमुख कारण देखिन्छ। संसदमा विचार र नीतिको बहस हुनु स्वाभाविक हो, तर असहमतिप्रति सम्मानजनक व्यवहार देखाउनु लोकतान्त्रिक संस्कारको आधारभूत पक्ष हो। जब सांसदहरू आफूलाई मात्र सही देख्न थाल्छन् र अर्काको मत सुन्न अस्वीकार गर्छन्, तब संसद अमर्यादित विवादको केन्द्र बन्छ। अर्कोतर्फ, संसदीय प्रक्रियाबारे पर्याप्त ज्ञान नहुनु र सांसदहरूले आफ्नो भूमिका गम्भीर रूपमा नबुझ्नु पनि संसदको स्तर खस्किनुको अर्को कारण हो।

संसदीय मर्यादा कायम राख्न अब कडाभन्दा कडा नियम लागू गर्न आवश्यक देखिन्छ। सांसदहरूले संसदभित्र मर्यादित भाषा प्रयोग गर्नुपर्ने र असभ्य अभिव्यक्ति दिनेहरूमाथि कारबाही हुनुपर्ने माग बारम्बार उठ्दै आएको छ। तर, कारबाही नभएसम्म यस्ता घटनाहरू दोहोरिइरहनेछन्। संसदको गरिमा जोगाउन सभामुखले अझ कडा नियम लागू गर्नुपर्छ, सांसदहरूलाई संसदीय आचारसंहिता पालनाका लागि बाध्य बनाउनुपर्छ। यदि संसदभित्रै सभ्यताको कमी रहिरह्यो भने, आम जनतामा संसदको विश्वसनीयता घट्ने मात्र होइन, समग्र लोकतान्त्रिक प्रणालीमै वितृष्णा बढ्नेछ। संसद भनेको लोकतन्त्रको पवित्र थलो हो, व्यक्तिगत लडाइँको अखडा होइन भन्ने यथाशीघ्र सबै राजनीतिक दलले आत्मसात गर्न जरुरी छ।

 

तपाईको प्रतिक्रिया