बुधबार ३ बैशाख २०८२
राजनीति

शिक्षा विधेयक छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

सोमबार बैशाख १, २०८२/ Monday 04-14-25

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले शिक्षामा बजेट वृद्धि गरेर विद्यालय शिक्षा विधेयक पारित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नयाँ शैक्षिकसत्रको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भने, ‘शिक्षा क्षेत्रमा बजेटको अंश वृद्धि गर्दै दीगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध छ ।’

शिक्षालाई स्थानीय ज्ञान, सीप र प्रविधिलाई जोडी आधुनिकीकरण गर्न र देशमा नै रोजगार एवम् स्वरोजगारका अवसर सिर्जना गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन् । अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको लक्ष्य हासिलका लागि तीनवटै तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि गर्नुपर्ने अवस्था रहेको प्रधानमन्त्री ओलीले बताए ।

सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान सुरु भएको प्रधानमन्त्री ओलीले बताए ।

तपाईको प्रतिक्रिया