
काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूमध्ये ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
काठमाडौं जिल्ला अदालतले थुनामा राख्न आदेश दिएका ७ जनालाई शुक्रबार डिल्लीबजार कारागार चलान गरिएको छ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजतन्त्र पक्षधरको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा मुद्दा लागेका दुर्गाप्रसाद प्रसाईं, तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, केशव बस्नेत, कुमार तामाङ र सुशील बराललाई कारागार लगिएको हो ।
डिल्लीबजार कारागारका कारागार प्रशासक बाबुराम आर्यालका अनुसार उनीहरुलाई शुक्रबार दिउँसो कारागार ल्याइएको छ । काठमाडौं जिल्ला अदालतले बिहीबार राति थुनामा राख्न आदेश दिएको थियो ।न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ७ जनालाई थुनामा राख्न र ३२ जनालाई धरौटीमा छोड्न आदेश दिएको थियो ।
सरकारी वकिलको कार्यालयले प्रसाईंसहित ५० र ११ जनाको छुट्टाछुट्टै अभियोगपत्र बनाएर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम ११ जेठमा मुद्दा दायर गरेको थियो । त्यसमध्ये आपराधिक उपद्रवअन्तर्गत ११ जना यसअघि नै धरौटीमा छुटेका छन् । ५० जनामध्ये उपस्थितहरूको बयान र थुनछेक बहसपछि अदालतले यो निर्णय गरेको हो ।
तपाईको प्रतिक्रिया