धादिङको बैरेनीमा तीन सवारी एकापसमा ठोक्किँदा ३७ जना घाइते
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते भएका छन्।
प्रहरीका अनुसार गएराति सडक किनारामा रोकिराखिएको बा ०३–००१–००६ ख २०५६ नम्बरको ट्रकलाई काठमाडौँबाट बाग्लुङतर्फ जाँदै गरेको बा ०१–००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। त्यसलगत्तै काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०१–००६ ख ६७१६ नम्बरको अर्को बसले उक्त बसलाई पछाडिबाट ठक्कर दिएको हो।
दुर्घटनामा घाइते भएका सबैलाई राति नै उद्धार गरी काठमाडौँ ट्रमा सेन्टर, शिक्षण अस्पताल तथा अन्य अस्पतालमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।
घाइतेमध्ये ३४ जनाको उपचार भइरहेको छ भने तीन जना उपचारपछि घर फर्किएका छन्। केही घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न तीनवटै सवारीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
तपाईको प्रतिक्रिया