कानुन दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कानुनले दोषीलाई डर र निर्दोषलाई भरोसा तथा संरक्षणको अनुभूति दिलाउनुपर्ने बताएका छन्।
कानुन दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै उनले विधिको शासन र स्वतन्त्र न्यायपालिकाको महत्व उल्लेख गरे। कानुनको सही कार्यान्वयन र स्थापित विधि–पद्धतिको पालना कमजोर भए समाजमा नकारात्मक प्रभाव पर्ने तथा नागरिकमा भय उत्पन्न हुने उनले बताए।
राष्ट्रपति पौडेलले सुशासन, शान्ति, समृद्धि र सामाजिक मर्यादा कायम गर्न कानुन अपरिहार्य माध्यम भएको उल्लेख गरे। कानुन दिवसको मूल भावना आत्मसात गर्न सके मात्र आत्मनिर्भर र समृद्ध नेपाल निर्माण सम्भव हुने उनको भनाइ थियो।
उनले संविधानको भावना र वर्तमान आवश्यकताअनुसार नयाँ कानुन निर्माण तथा विद्यमान कानुनमा समयानुकूल सुधार गर्नुपर्नेमा जोड दिए। आधुनिक प्रविधि र पद्धतिको प्रयोगमार्फत नागरिकलाई न्यायमा सहज पहुँच दिलाउन, मुद्दाको छिटो व्यवस्थापन गर्न तथा न्याय सम्पादनलाई प्रभावकारी बनाउन आवश्यक रहेको उनले बताए।
राष्ट्रपति पौडेलले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न न्यायिक मूल्यमान्यताको संरक्षण आवश्यक रहेको उल्लेख गर्दै कानुन दिवसले सबैमा सकारात्मक सोच, प्रेरणा र उत्साह प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरे।
तपाईको प्रतिक्रिया