प्रधानन्यायाधीश नियुक्तिको स्थापित परम्परालाई परिषद्ले तलमाथि नगरोस् : पूर्णबहादुर खड्का
काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रधानन्यायाधीश नियुक्तिको विषयमा संवैधानिक परिषद्को ध्यानाकर्षण गराएका छन्। उनले विगत चार दशकदेखि कायम रहँदै आएको नियुक्तिसम्बन्धी परम्परा र अभ्यासलाई परिवर्तन नगर्न आग्रह गरेका हुन्।
बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खड्काले प्रधानन्यायाधीश चयन प्रक्रियामा स्थापित संवैधानिक अभ्यास, वरिष्ठताको मान्यता र न्यायिक परम्परालाई सम्मान गर्नुपर्ने बताएका छन्।
उनले आज बस्ने भनिएको संवैधानिक परिषद्को बैठकबाट नयाँ प्रधानन्यायाधीश नियुक्त हुने चर्चा चलिरहेको उल्लेख गर्दै परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को ध्यान यसतर्फ केन्द्रित गराएका छन्।
खड्काका अनुसार यदि स्थापित अभ्यासलाई बेवास्ता गरियो भने न्यायालयभित्र असुरक्षा, अन्योल र अस्थिरताको अवस्था सिर्जना हुन सक्छ। यस्तो परिस्थितिले न्यायिक स्वतन्त्रता मात्र होइन, समग्र लोकतान्त्रिक व्यवस्थामै नकारात्मक प्रभाव पार्न सक्ने उनको चेतावनी छ।
तपाईको प्रतिक्रिया