बुधबार ३० बैशाख २०८३
बिजनेस

टोखामा बजार अनुगमन : ४६ पसल कारबाहीमा, एक पसल बन्द

बुधबार बैशाख ३०, २०८३/ Wednesday 05-13-26

काठमाडौं । टोखा नगरपालिका ले उपभोक्ताको हित संरक्षण र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन सञ्चालन गरेको बजार अनुगमन अभियानमा ४६ वटा पसल कारबाहीमा परेका छन्।

नगरपालिकाले ‘टोखा नगरपालिका बजार अनुगमन निर्देशिका, २०७५’ बमोजिम वैशाख २५ गतेदेखि नगरभित्रका ११ वटै वडामा अनुगमन सुरु गरेको थियो। अनुगमनमा नगरपालिका, नगर प्रहरी, केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला, पशु सेवा कार्यालय, उद्योग वाणिज्य सङ्घ टोखा तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिहरू सहभागी थिए।

टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईका अनुसार अधिकांश व्यवसाय दर्ता तथा नवीकरण नगरी सञ्चालन गरिएको पाइएको छ। साथै धेरै पसलमा मूल्यसूची नराखिएको, म्याद गुज्रिएका वस्तु बिक्रीका लागि राखिएको, मासु पसलमा सरसफाइको अभाव रहेको तथा न्यूनतम मापदण्डसमेत पालना नगरेको भेटिएको उनले बताए।

अनुगमनका क्रममा माछा, मासु पसल, दूध डेरी, भेटेरिनरी औषधि पसल, हस्तकला तथा खाद्यान्न पसलसहित ३९ व्यवसायलाई सचेत गराइएको छ। त्यस्तै ६ वटा पसललाई एक हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गरिएको छ भने एक पसललाई बन्द गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिँदै उपभोक्ताको स्वास्थ्य र अधिकारसँग खेलवाड गर्ने व्यवसायमाथि कडा कारबाही गरिने जनाएको छ।

 

तपाईको प्रतिक्रिया