ड्रोन हमलाको जवाफमा साउदी अरबले इरानभित्र गोप्य सैन्य हमला गरेको दाबी
काठमाडौं । साउदी अरबले इरानको भूमिमाथि गोप्य रूपमा सैन्य आक्रमण गरेको तथ्य सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार साउदी अरबले गत मार्च महिनाको अन्त्यतिर इरानविरुद्ध प्रत्यक्ष सैन्य कारबाही गरेको हो।
रोयटर्सको रिपोर्टअनुसार यो पहिलो पटक हो, जब साउदी अरबले प्रत्यक्ष रूपमा इरानको भूमिमा सैन्य हमला गरेको जानकारी बाहिर आएको छ। उक्त आक्रमण इरान समर्थित समूहहरूले साउदी अरबमाथि गरेका लगातार ड्रोन र मिसाइल हमलाको जवाफस्वरूप गरिएको बताइएको छ।
यसअघि अमेरिका र इजरायलले इरानमाथि आक्रमण तीव्र बनाएका थिए। त्यसको प्रतिक्रियास्वरूप इरानले इजरायलसँगै मध्यपूर्वका अमेरिका समर्थित खाडी मुलुकहरूमा मिसाइल तथा ड्रोन आक्रमण गरेको थियो। सोही क्रममा साउदी अरब पनि निशानामा परेको थियो।
फेब्रुअरी २८ देखि सुरु भएको क्षेत्रीय तनावका क्रममा इरान समर्थित समूहहरूले साउदी अरबमाथि पटक–पटक आक्रमण गरेका थिए। त्यसको बदलास्वरूप साउदी अरबले इरानभित्र सीमित तर लक्षित सैन्य कारबाही गरेको रोयटर्सले जनाएको छ।
सैन्य कारबाहीपछि दुवै देशबीच कूटनीतिक माध्यमबाट गहन संवाद भएको र तनाव थप नबढाउने समझदारीका लागि प्रयास भएको बताइएको छ।
लामो समयदेखि आफ्नो सुरक्षाका लागि अमेरिकामा निर्भर रहँदै आएको साउदी अरबले पछिल्ला घटनाक्रमपछि राष्ट्रिय सुरक्षामा थप सक्रिय भूमिका लिन थालेको विश्लेषण गरिएको छ। यद्यपि साउदी अरब र इरान दुवैले सार्वजनिक रूपमा संयमता अपनाउँदै द्वन्द्व थप चर्किन नदिने प्रयास गरिरहेका छन्।
तर दुवै देशबीचको कूटनीतिक सम्बन्ध भने अझै पूर्ण रूपमा सहज हुन सकेको छैन।
तपाईको प्रतिक्रिया