काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिलाई लिएर विवाद चर्किएपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
बुधबार बसेको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं उपस्थित भएर नीति तथा कार्यक्रमबारे जवाफ दिनुपर्ने माग राख्दै बैठक अघि बढ्न नदिने अडान लिएका थिए ।
संसदको कार्यसूचीअनुसार आजबाट नीति तथा कार्यक्रममाथिको छलफल सुरू हुने तय थियो । शून्य समय सकिएपछि सभामुख अर्यालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन समय दिएका थिए ।
तर प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले जवाफ दिन लागेको भन्दै प्रतिपक्षी कांग्रेस, एमाले, नेकपा तथा श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाउँदै उठेका थिए । उनीहरूले प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थितिबिना सरकारको नीति तथा कार्यक्रममाथि प्रभावकारी छलफल हुन नसक्ने तर्क गरेका थिए ।
विपक्षी सांसदहरूले प्रतिनिधि सभा नियमावलीको दफा ३८ को आडमा प्रधानमन्त्री सधैं अनुपस्थित रहने अवस्था स्वीकार्य नहुने भन्दै प्रश्न उठाएका थिए । उनीहरूले “पाँच वर्षसम्म प्रधानमन्त्रीको आवाज नै नसुन्ने हो ?” भन्दै सभामुखसँग प्रधानमन्त्रीलाई उपस्थित गराउन माग गरेका थिए ।
यता सत्तापक्षका सांसदहरूले भने नियमावलीअनुसार प्रधानमन्त्री अनुपस्थित हुँदा तोकिएको मन्त्रीले छलफलमा भाग लिन र जवाफ दिन सक्ने स्पष्ट व्यवस्था रहेको भन्दै बैठक सञ्चालन गर्नुपर्ने बताएका थिए ।
दुवै पक्षबीच चर्को विवाद भएपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन् ।
तपाईको प्रतिक्रिया