काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई आफूले कुनै बयान नदिएको दाबी गरेका छन्। आयोगले भने आफूबाट बयान लिइएको उल्लेख गर्दै झूटो प्रतिवेदन तयार पारेको आरोप उनले लगाएका छन्।
एक कार्यक्रममा बोल्दै ओलीले आयोगले आफूलाई प्रश्नावली पठाएको भए पनि बयान दिन अस्वीकार गरेर फिर्ता पठाएको बताए। “मैले बयान दिइनँ, तर आयोगले बयान दिएको भनेर प्रतिवेदनमा छाप्यो,” उनले भने, “मलाई प्रश्नपत्र पठाइएको थियो, मैले बयान दिन्नँ भनेर फिर्ता पठाएको हुँ।”
ओलीले तत्कालीन सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा आफूलाई फसाउने उद्देश्यले आयोग गठन गरेको आरोप समेत लगाए। उनका अनुसार आयोग निष्पक्ष ढंगले सञ्चालन नभई राजनीतिक उद्देश्यबाट प्रभावित भएको थियो।
उनले राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनप्रति पनि असन्तुष्टि व्यक्त गर्दै त्यसमा समेटिएका केही विषयवस्तु तथ्यपरक नभएको टिप्पणी गरे। ओलीले सम्बन्धित निकायहरूले निष्पक्षता, सत्यतथ्य र प्रमाणका आधारमा मात्रै प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा जोड दिए।
तपाईको प्रतिक्रिया