शुक्रबार १५ जेठ २०८३
बिजनेस

बाजुराको बडिमालिका केन्द्रित दीर्घकालीन पर्यटन विकास मोडेल अघि बढाइने

शुक्रबार जेठ १५, २०८३/ Friday 05-29-26

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिकालाई केन्द्रमा राखेर दीर्घकालीन पर्यटन विकास मोडेल अघि बढाउने घोषणा गरेको छ ।

संघीय संसदमा बजेट प्रस्तुत गर्दै सरकारले बडिमालिका क्षेत्रलाई धार्मिक पर्यटन, प्राकृतिक सौन्दर्य संरक्षण तथा स्थानीय आर्थिक विकाससँग जोडेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गरिने जनाएको हो ।

सरकारले बडिमालिका क्षेत्रको समग्र विकासका लागि सडक सञ्जाल विस्तार, पदमार्ग स्तरोन्नति, पर्यटक सेवा सुविधा सुधार, सञ्चार तथा स्वास्थ्य पहुँच विस्तार, खानेपानी तथा सरसफाइ व्यवस्थापनलाई प्राथमिकतामा राख्ने उल्लेख गरेको छ । साथै स्थानीय समुदायको सहभागितामा दीगो पर्यटन केन्द्रका रूपमा विकास गरिने योजना सार्वजनिक गरिएको छ ।

बजेट वक्तव्यमार्फत रामारोशन, बडिमालिका, खप्तड शैलेश्वरी, उग्रतारा र मल्लिकार्जुन क्षेत्रलाई जोडेर एकीकृत तथा विशिष्टकृत विकास योजना अघि बढाइने उल्लेख गरिएको छ।

सरकारले यी क्षेत्रहरूलाई धार्मिक पर्यटन, प्राकृतिक सौन्दर्य संरक्षण र स्थानीय आर्थिक विकाससँग जोड्दै सुदूरपश्चिमको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

 

 

तपाईको प्रतिक्रिया