काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक इण्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको छ।
अहमदाबादमा आइतबार राति सम्पन्न फाइनलमा गुजरातले दिएको १५६ रनको लक्ष्य आरसीबीले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। बेंगलुरुको जितमा विराट कोहलीले अविजित ७५ रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले भने वेङ्कटेस अय्यरले ३२ रन जोडे।
यसअघि टस हारेर ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। टोलीका लागि वासिङ्टन सुन्दरले अविजित ५० रन बनाए। निशान्त सिन्धु, जोस बटलर र अर्शद खानले पनि दोहोरो अंकको योगदान दिए।
बलिङतर्फ आरसीबीका रसिक सलामले ३ विकेट लिए भने जोस हेजलवुड र भुवनेश्वर कुमारले समान २–२ विकेट हात पारे।
लिग चरणमा शीर्ष स्थानमा रहेको आरसीबीले पहिलो क्वालिफायरमा पनि गुजरातलाई हराएर फाइनल यात्रा तय गरेको थियो। उपाधिसँगै आरसीबी लगातार दुई संस्करण जित्ने आईपीएल इतिहासको तेस्रो टोली बनेको छ। यसअघि चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सले लगातार दुई पटक च्याम्पियन बन्ने कीर्तिमान बनाएका थिए।
तपाईको प्रतिक्रिया