इरान-अमेरिका तनाव चर्कियो, हर्मुज स्ट्रेटमा गोली चल्यो
तेहरान। इरान र अमेरिकाबीचको तनाव फेरि चर्किएको छ। हर्मुज स्ट्रेट हुँदै गइरहेका चार जहाजमाथि इरानी सेनाले चेतावनीस्वरूप गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। ती जहाजमध्ये एक अमेरिकी तेल ट्यांकर रहेको बताइएको छ। जहाजहरूले आफ्नो ट्र्याकिङ सिस्टम बन्द गरेर यात्रा गरिरहेको दाबी गरिएको छ।
इरानी रिभोल्युसनरी गार्ड (आईआरजीसी) ले जहाजहरूलाई पहिचान खुलाउन निर्देशन दिएको भए पनि कुनै प्रतिक्रिया नआएपछि गोली चलाइएको जनाइएको छ। त्यसलगत्तै अमेरिकी सेनाले बन्दर अब्बास विमानस्थल आसपासका तीन स्थानमा हमला गरेको रिपोर्ट सार्वजनिक भएका छन्।
यसको जवाफस्वरूप आईआरजीसीले एक अमेरिकी एयरबेसलाई निशाना बनाएर हमला गरेको दाबी गरेको छ। इरानले कुन एयरबेसमा हमला गरिएको हो भन्ने स्पष्ट नपारे पनि कुवेतस्थित अमेरिकी सैन्य अड्डा लक्ष्यमा परेको बताइएको छ। तस्नीम समाचार एजेन्सीका अनुसार, अमेरिकी हमला भएको भनिएको एयरबेसलाई स्थानीय समयअनुसार बिहान ४:५० बजे निशाना बनाइएको थियो।
यसैबीच, बन्दर अब्बास नजिक मंगलबार बिहान तीन ठूला विस्फोटको आवाज सुनिएको इरानी सरकारी मिडियाले जनाएको छ। घटनापछि इरानले केही समयका लागि आफ्नो एयर डिफेन्स सिस्टम सक्रिय पारेको थियो।
तपाईको प्रतिक्रिया