रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच बुधबार भेटवार्ता भएको छ।
भारत भ्रमणमा रहेका सभापति लामिछानेले नयाँ दिल्लीस्थित हैदराबाद हाउस मा प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गरेका हुन्। भेटका क्रममा नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय, क्षेत्रीय सहकार्य तथा दुई देशबीचको जनस्तरको सम्बन्धका विविध पक्षमा छलफल भएको जनाइएको छ।

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत लामिछानेसँग भेटवार्ता भएको जानकारी सार्वजनिक गर्दै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको उल्लेख गरेका छन्। उनले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
रास्वपाले पनि भेटलाई नेपाल–भारत सम्बन्धको सन्दर्भमा महत्त्वपूर्ण राजनीतिक तथा कूटनीतिक संवादका रूपमा लिएको जनाएको छ। भारत भ्रमणका क्रममा लामिछानेले भारतीय राजनीतिक नेतृत्व तथा विभिन्न निकायका प्रतिनिधिसँग समेत भेटघाट र छलफल गरिरहेका छन्।
यसअघि मंगलबार उनले नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयमा पुगेर त्यहाँका शीर्ष नेताहरूसँग राजनीतिक तथा कूटनीतिक विषयमा छलफल गरेका थिए। रास्वपाका अनुसार भ्रमणले नेपाल र भारतबीचको आपसी समझदारी, सहकार्य र सम्बन्ध विस्तारमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
दुवै नेताबीचको भेटलाई नेपाल–भारत सम्बन्ध तथा समसामयिक राजनीतिक संवादका दृष्टिले चासोका साथ हेरिएको छ।
तपाईको प्रतिक्रिया