बुधबार २० जेठ २०८३
राजनीति

राष्ट्रियसभा २६ गतेसम्म स्थगित

बुधबार जेठ २०, २०८३/ Wednesday 06-03-26

काठमाडौँ । प्रधानमन्त्रीको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राष्ट्रियसभा सदस्यहरूले विरोध जारी राखेपछि राष्ट्रियसभा बैठक जेठ २६ गतेसम्मका लागि स्थगित गरिएको छ।

बुधबार बैठक सुरु हुनासाथ विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। प्रधानमन्त्रीले आफ्नो भनाइ फिर्ता नलिएसम्म सदनको कार्यसूची अघि बढ्न नदिने अडान उनीहरूले दोहोर्‍याएपछि बैठक एक साताका लागि सारिएको हो।

बैठकको प्रारम्भमा राष्ट्रियसभा सदस्य सुनिलबहादुर थापाले प्रधानमन्त्रीको अभिव्यक्तिलाई गैरजिम्मेवार र तथ्यविहीन भन्दै त्यसलाई तत्काल फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्नुपर्ने धारणा राखे।

उनले प्रधानमन्त्रीको भनाइ अपरिपक्व रहेको टिप्पणी गर्दै यस्तो अभिव्यक्तिले नेपाल र छिमेकी मुलुकबीचको सम्बन्धमा समेत प्रतिकूल प्रभाव पार्न सक्ने बताए। साथै, सीमा अतिक्रमणसम्बन्धी कुनै ठोस प्रमाण भए संसद्मा पेश गर्न प्रधानमन्त्रीलाई चुनौती दिए।

सदस्यहरूको निरन्तर विरोधका बीच राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पटक–पटक बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए। तर सांसदहरू आफ्नो अडानबाट पछि नहटेपछि उनले बैठक जेठ २६ गतेसम्मका लागि स्थगित भएको घोषणा गरे।

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर राष्ट्रियसभामा केही दिनयता लगातार अवरोध हुँदै आएको छ, जसका कारण सदनको नियमित कामकारबाही प्रभावित बनेको छ।

तपाईको प्रतिक्रिया