बुधबार २० जेठ २०८३
अर्थ

२७८० अंकमा सेयर बजार, पाँच अर्ब ७३ करोडको कारोबार

बुधबार जेठ २०, २०८३/ Wednesday 06-03-26

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन २२.२१ अंकले उकालो लागेको बजार आज भने २.६६ अंकले मात्र बढ्दै २७८० बिन्दुमा पुगेको हो।

दिनभर बजारमा सामान्य उतारचढाव देखिएको थियो। कारोबारमा सहभागी १४९ कम्पनीको सेयर मूल्य बढ्दा ११६ कम्पनीको मूल्य घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो।

कारोबार रकममा भने वृद्धि भएको छ। मंगलबार ५ अर्ब २६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा बुधबार यो रकम बढेर ५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।

समूहगत सूचकतर्फ बुधबार निर्जीवन बीमा क्षेत्र लगानीकर्ताको रोजाइमा परेको देखियो। यो समूहको सूचक ३.३७ प्रतिशतले उकालो लाग्दै वैशाख २ यताकै उच्च स्तरमा पुगेको छ। बजेटमार्फत सवारी साधनको तेस्रो पक्ष बीमाको बीमांक रकम दोब्बर बढाएर १० लाख रुपैयाँ पुर्‍याइएकाले निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय विस्तार हुने अपेक्षासहित यस क्षेत्रमा आकर्षण बढेको विश्लेषण गरिएको छ।

त्यस्तै, जीवन बीमा समूह १.७३ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४२ प्रतिशत, माइक्रोफाइनान्स ०.४५ प्रतिशत, होटल तथा पर्यटन ०.१८ प्रतिशत तथा विकास बैंक समूह ०.६६ प्रतिशतले बढेका छन्।

विपरीत रूपमा अन्य समूह २.३६ प्रतिशतले घट्दै सबैभन्दा कमजोर प्रदर्शन गर्ने समूह बन्यो। यस्तै व्यापार ०.२४ प्रतिशत, लगानी ०.२० प्रतिशत, जलविद्युत् ०.११ प्रतिशत, फाइनान्स १.१६ प्रतिशत र बैंकिङ समूह ०.१३ प्रतिशतले ओरालो लागे।

व्यक्तिगत कम्पनीतर्फ कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढ्यो। एसबीएल डिबेन्चर (२०८४) १४.९३ प्रतिशत, विजय लघुवित्त ८.७३ प्रतिशत, सयपत्री हाइड्रोपावर ७.०५ प्रतिशत तथा नेपाल इन्स्योरेन्स ६.१७ प्रतिशतले बढेका छन्।

घट्ने कम्पनीमा नेपाल पुनर्बीमा अग्रस्थानमा रह्यो, जसको मूल्य ५.१८ प्रतिशतले घट्यो। सेन्ट्रल फाइनान्स ३.४८ प्रतिशत, हिमालयन रिइन्स्योरेन्स ३.३९ प्रतिशत तथा त्रिशूली जलविद्युत् ३.३९ प्रतिशतले ओरालो लागे।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत्, नेपाल पुनर्बीमा, रिडी पावर, नेपाल इन्स्योरेन्स तथा नेसनल हाइड्रोपावर सबैभन्दा सक्रिय कम्पनीका रूपमा देखिएका छन्।

तपाईको प्रतिक्रिया