मंगलबार २३ असार २०८३
खेलकुद

हालान्डको दुई गोलमा ब्राजिल स्तब्ध, नर्वे पहिलो पटक विश्वकप क्वार्टरफाइनलमा

सोमबार असार २२, २०८३/ Monday 07-06-26

काठमाडौं। स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्तिम समयमा दुई गोल गरेपछि नर्वेले फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा ऐतिहासिक स्थान सुरक्षित गरेको छ।

गएराति मेटलाइफ स्टेडियममा सम्पन्न अन्तिम १६ को रोमाञ्चक भिडन्तमा नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले पराजित गर्दै पहिलो पटक विश्वकपको क्वार्टरफाइनल यात्रा तय गर्यो। यस हारसँगै ब्राजिल सन् १९९० यता पहिलो पटक विश्वकपको अन्तिम १६ बाटै बाहिरिएको छ।

नर्वेको ऐतिहासिक जितमा गोलरक्षक ओर्यान निल्यान्डले उत्कृष्ट प्रदर्शन गरे। उनले पहिलो हाफमा ब्रुनो गुइमारेसको पेनाल्टी बचाउँदै ब्राजिललाई अग्रता लिनबाट रोके। त्यसपछि खेल सकिन ११ मिनेट बाँकी रहँदा हालान्डले लगातार दुई गोल गर्दै नर्वेलाई अविस्मरणीय जित दिलाए।

इन्जुरी समयको अन्तिम मिनेटमा नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि त्यो ब्राजिलको हार टार्न पर्याप्त भएन।

यस खेलमा दुई गोल गरेसँगै हालान्डले जारी प्रतियोगितामा आफ्नो गोल संख्या सात पुर्‍याएका छन्, जसले उनलाई लियोनेल मेस्सीसँग संयुक्त रूपमा सर्वाधिक गोलकर्ताको सूचीमा उभ्याएको छ।

अब नर्वेले जुलाई ११ मा मियामीमा हुने क्वार्टरफाइनलमा सह-आयोजक मेक्सिको वा इङ्गल्यान्डमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।

 

तपाईको प्रतिक्रिया