बुधबार १७ असार २०८३
खेलकुद

चार पटकको विश्वविजेता जर्मनी बाहिरियो, पाराग्वे अन्तिम १६ मा

मंगलबार असार १६, २०८३/ Tuesday 06-30-26

काठमाडौँ । चार पटकको विश्वविजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले स्तब्ध पार्दै पाराग्वे फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गरी कुल १२० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लागेको हो।

गुस्ताभो अल्फारोको प्रशिक्षणमा रहेको पाराग्वेले बलियो जर्मनीविरुद्ध उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्‍यो। जर्मनीले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखे पनि पाराग्वेको सुदृढ रक्षापंक्ति भेद्न संघर्ष गर्नुपर्‍यो।

पहिलो हाफमा जर्मनीका लेरोय साने, फ्लोरियन विर्ट्ज र काइ हाभर्ट्जले गरेका प्रहार पाराग्वेका गोलकिपर ओर्लान्डो गिल र रक्षकहरूले विफल पारे।

पहिलो हाफको अन्त्यतिर पाराग्वेले अग्रता लियो। कर्नरबाट आएको बललाई जर्मनीका गोलकिपर मानुएल नोयरले पञ्च गर्दै बाहिर पठाए पनि माथियास गालार्जाले पुनः मिलाएको उत्कृष्ट क्रसमा जुलियो एन्सिसोले फ्रि हेडमार्फत आकर्षक गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए।

दोस्रो हाफमा आक्रामक रूपमा उत्रिएको जर्मनीले ५४औँ मिनेटमा बराबरी गोल फर्कायो। फ्लोरियन विर्ट्जको बायाँ विंगबाट आएको क्रसलाई काइ हाभर्ट्जले हेडमार्फत जाली चुमाए।

त्यसपछि जर्मनीले लगातार आक्रमण गरे पनि पाराग्वेको अनुशासित रक्षापंक्तिले सबै प्रयास विफल पारिदियो। प्रशिक्षक युलियन नागेल्सम्यानले अतिरिक्त समयमा पेनाल्टी सुटआउट टार्ने उद्देश्यले आफ्ना सबै आक्रामक खेलाडीलाई मैदानमा उतारेका थिए।

जोनाथन टाहले जर्मनीका लागि गोल गरे पनि, बल प्रहार हुनुअघि वाल्डेमार एन्टोनले पाराग्वेका गोलकिपर गिलमाथि फाउल गरेको ठहर गर्दै रेफ्रीले उक्त गोललाई मान्यता दिएनन्।

पेनाल्टी सुटआउटमा जर्मनीको सुरुआत नै निराशाजनक रह्यो। पाराग्वेका गोलकिपर गिलले पहिलो प्रहारकर्ता काइ हाभर्ट्जको पेनाल्टी शानदार ढंगले बचाए। त्यसपछि दुवै टोलीका केही खेलाडीले पेनाल्टी गोल गर्न असफल भए।

अन्ततः होसे कानालेसले निर्णायक पेनाल्टीलाई सहज रूपमा गोलमा परिणत गर्दै पाराग्वेलाई ४–३ को ऐतिहासिक जित दिलाए।

यस जितसँगै पाराग्वेले जुलाई ४ मा फिलाडेल्फियामा हुने अन्तिम १६ को खेलमा फ्रान्स र स्वीडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

 

तपाईको प्रतिक्रिया