संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले संविधान संशोधन गर्दा यसको आधारभूत संरचनालाई कुनै असर नपर्ने गरी आवश्यक विषयमा परिवर्तन गर्न सकिने बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले संविधान संशोधनको विषयलाई जिम्मेवारीपूर्वक अघि बढाउनुपर्नेमा जोड दिए। संविधानको मूल मर्म सुरक्षित राख्दै समयअनुकूल सुधार गर्न सकिने उल्लेख गर्दै उनले संशोधन प्रक्रियामा पर्याप्त गम्भीरता आवश्यक रहेको बताए।
उनले सरकारको १०० दिनको कार्यकालमा सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा प्रवाह सुधारका लागि भएका प्रयासको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे।
अध्यक्ष राईले हालै महाकाली क्षेत्रको भ्रमण गरेको जानकारी दिँदै दार्चुला–टिङ्कर सडक निर्माणलाई प्राथमिकताका साथ तीव्र गतिमा अघि बढाउन सरकारसँग आग्रह गरे। साथै, आगामी राष्ट्रिय गौरवका आयोजनाहरू सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्ने उनको धारणा थियो।
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समस्या समाधानका लागि पुनर्वासको व्यवस्था गर्न र उनीहरूलाई शीघ्र जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउन पनि उनले सरकारको ध्यानाकर्षण गराए।
त्यसैगरी, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयको रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले स्वास्थ्य सेवाको पहुँच देशभर विस्तार गर्न विकेन्द्रीकरणको नीति अपनाउन सरकारलाई सुझाव दिए।
तपाईको प्रतिक्रिया