मंगलबार २३ असार २०८३
बिश्वो

रुस युक्रेन युद्ध अन्त्य गर्नेबारे ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

सोमबार असार २२, २०८३/ Monday 07-06-26

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन युद्धको समाधानका विषयमा करिब ९० मिनेट टेलिफोन वार्ता भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार ट्रम्पले युद्धको छिटो अन्त्यका लागि आवश्यक सहजीकरण गर्न अमेरिका तयार रहेको बताएका छन्।

आउँदो हप्ता टर्कीमा हुने नेटो शिखर सम्मेलनको सन्दर्भमा भएको वार्तामा ट्रम्पले कूटनीतिक पहलमार्फत युद्ध अन्त्य गर्ने प्रयासलाई अघि बढाउन आफू इच्छुक रहेको उल्लेख गरेका छन्।

वार्ताका क्रममा राष्ट्रपति पुटिनले युक्रेन युद्धको राजनीतिक तथा कूटनीतिक समाधान आवश्यक रहेको भन्दै त्यसका लागि रुसका आधारभूत सुरक्षा चासोलाई सम्मान गरिनुपर्ने धारणा राखेका छन्। साथै उनले युक्रेन र उसका युरोपेली सहयोगीहरूले द्वन्द्वलाई लम्ब्याउँदै सर्वसाधारणमाथिको आक्रमण बढाएको आरोप पनि लगाएका छन्।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि अमेरिकी राष्ट्रपति ट्रम्पसँग टेलिफोन संवाद गरेका छन्। जेलेन्स्कीले उक्त वार्तालाई निकै सकारात्मक भएको उल्लेख गर्दै युद्ध अन्त्यका लागि अमेरिकी नेतृत्वको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।

खबरअनुसार ट्रम्प र जेलेन्स्कीबीच टर्कीमा हुने नेटो शिखर सम्मेलनका क्रममा थप छलफल गर्ने सहमति भएको छ। ट्रम्पले अमेरिकी विशेष दूत स्टिभ विटकोफ र जारेड कुशनरले शान्ति वार्ताको पहललाई निरन्तरता दिने तथा आवश्यक परे मस्को भ्रमण गर्न सक्ने बताएका छन्।

यसै क्रममा राष्ट्रपति पुटिनले ट्रम्पलाई मस्को भ्रमणको निमन्त्रणा दिएका छन्। यता, रुसले युद्ध समाधानका लागि डोनबास क्षेत्रमाथि पूर्ण नियन्त्रणको आफ्नो अडान दोहोर्याइरहेको छ भने युक्रेनले उक्त प्रस्ताव अस्वीकार गर्दै आएको छ।

 

तपाईको प्रतिक्रिया