मंगलबार २३ असार २०८३
खेलकुद

विश्वकपबाट बाहिरिएसँगै नेयमारले गरे अन्तराष्ट्रीय फुटबलबाट सन्यासको घोषणा

सोमबार असार २२, २०८३/ Monday 07-06-26

काठमाडौं। ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्। फिफा विश्वकप २०२६ को अन्तिम १६ मा नर्वेसँग २–१ को हार बेहोर्दै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि ३४ वर्षीय नेयमारले राष्ट्रिय टोलीबाट बिदा लिने निर्णय सार्वजनिक गरेका हुन्।

आइतबार न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा खेल सकिएलगत्तै नेयमार भावुक बनेर मैदानमै आँसु झारेका थिए। उनलाई टोलीका सहकर्मीहरूले सान्त्वना दिएका थिए। यस हारसँगै ब्राजिल सन् १९९० यता पहिलो पटक विश्वकपको अन्तिम १६ बाटै बाहिरिएको हो।

खेलमा नर्वेका एर्लिङ हालान्डले दुई गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए भने नेयमारले इन्जुरी समयमा पेनाल्टीमार्फत ब्राजिलका लागि एक गोल फर्काएका थिए। तर त्यो गोल हार टार्न पर्याप्त भएन।

संन्यास घोषणा गर्दै नेयमारले आफूले राष्ट्रिय टोलीका लागि सक्दो योगदान दिएको उल्लेख गरे। उनले भने, “मैले धेरै प्रयास गरेँ, तर अब यो यात्रा यतिमै समाप्त हुन्छ। मैले यही मैदानबाट राष्ट्रिय टोलीको यात्रा सुरु गरेको थिएँ र यहीँ आएर अन्त्य पनि भयो।”

नेयमारले सन् २०१० अगस्टमा संयुक्त राज्य अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेलबाट मेटलाइफ स्टेडियममै ब्राजिलका लागि डेब्यु गरेका थिए। सोही खेलमा उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल पनि गरेका थिए।

चोटका कारण पछिल्ला केही वर्ष कठिन रहे पनि नेयमारले ब्राजिलका लागि १३० खेलमा ८० गोल गर्दै राष्ट्रिय टोलीको करिअर टुंग्याएका छन्। यससँगै उनले पेलेको ७७ गोलको कीर्तिमानलाई पछि पार्दै ब्राजिलको इतिहासकै सर्वाधिक गोलकर्ता खेलाडीका रूपमा आफ्नो नाम दर्ज गरेका छन्। साथै, नर्वेविरुद्धको गोलसँगै उनी पेलेपछि चार फरक विश्वकपमा गोल गर्ने दोस्रो ब्राजिलियन पुरुष खेलाडी पनि बने।

यता, अप्रत्याशित हारपछि ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले टोलीमा नयाँ अध्याय सुरु गर्ने समय आएको बताएका छन्। उनले हार निराशाजनक भए पनि त्यसबाट पाठ सिकेर नयाँ योजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

“यो नतिजाले हामी सबैलाई दुःखी बनाएको छ। मलाई लाग्दैन हामी हार्न लायक थियौँ, तर फुटबलमा यस्ता परिणाम स्वीकार्नुपर्छ। अब हामी यही अनुभवबाट सिकेर नयाँ सोचका साथ अघि बढ्नेछौँ,” एन्सेलोटीले भने।

 

तपाईको प्रतिक्रिया