मंगलबार २३ असार २०८३
राजनीति

सरकारलाई कांग्रेसको प्रश्न : यो देश कालो चश्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालो गाडीमा हिँड्नेहरूको मात्र हो?

सोमबार असार २२, २०८३/ Monday 07-06-26

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुकुमवासी तथा अव्यवस्थित बसोवासीमाथि भइरहेको व्यवहारप्रति सरकारको आलोचना गरेका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै देश केवल कालो चश्मा, कालो कोट, कालो पाइन्ट लगाएर कालो गाडीमा हिँड्नेहरूको मात्र नभएको टिप्पणी गरे।

उनले कुनै पनि नागरिकको बसोवास कानुनी वा गैरकानुनी हुन सक्ने भए पनि नागरिकको जन्म कहिल्यै गैरकानुनी हुन नसक्ने उल्लेख गर्दै सुकुमवासीहरूको समस्या व्यवहारिक र दीगो रूपमा समाधान गर्न सरकारसँग माग गरे।

आङदेम्बेका अनुसार समाधानको नाममा वर्षायामको मुखमा हजारौँ सुकुमवासी तथा अव्यवस्थित बसोवासीलाई वैकल्पिक व्यवस्था नगरी विस्थापित गर्नु सरकारको संवेदनहीनताको उदाहरण हो।

उनले व्यवस्थापनको नाममा सुकुमवासी बस्तीबाट बलपूर्वक हटाएर आश्रयस्थलमा राख्ने र पछि रातारात त्यहाँबाट समेत हटाउने कार्य उचित नभएको बताए।

भाषणको अन्त्यमा उनले, “यो देश सुकुमवासी, अव्यवस्थित बसोवासी, गरिब किसान र मजदुरहरूको पनि होइन र?” भन्दै सरकारसमक्ष प्रश्न उठाए।

 

तपाईको प्रतिक्रिया