आइतबार १० श्रावण २०८३
बिजनेस

केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिका संशोधन, राष्ट्रिय परिचयपत्र अनिवार्य

शनिबार श्रावण ९, २०८३/ Saturday 07-25-26

काठमाडौं। नेपाल राष्ट्र बैंकले डिजिटल वालेट खोल्ने र प्रयोगकर्ताको विवरण अद्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्था अनिवार्य बनाएको छ।

भुक्तानी प्रणाली विभागले शुक्रबार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ मा १५औँ संशोधन गर्दै अब भुक्तानी सेवा प्रदायक संस्थाले नेपाली नागरिकको वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसार विवरण यकिन गर्नुपर्ने व्यवस्था गरेको हो।

संशोधित निर्देशिकाअनुसार सबै वालेट सेवा प्रदायकले २०८३ असोज मसान्तभित्र मोबाइल एप वा अन्य उपयुक्त माध्यमबाट प्रयोगकर्तासँग राष्ट्रिय परिचयपत्रको विवरण भए–नभएको स्वघोषणा लिनुपर्नेछ। साथै, राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका प्रयोगकर्ताले सोही अवधिभित्र आफ्नो वालेटमा परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्रिय परिचयपत्र नलिएका प्रयोगकर्तालाई परिचयपत्र प्राप्त गरेपछि विवरण अद्यावधिक गर्न प्रत्येक महिना जानकारी गराउनुपर्ने दायित्व पनि सेवा प्रदायक संस्थालाई दिइएको छ।

विदेशमा रहेका नेपाली नागरिकले भने आवश्यक कागजातका आधारमा अनलाइनमार्फत वालेट खोल्न पाउने हालको व्यवस्था यथावत् रहनेछ। तर नेपाल फर्किएको छ महिनाभित्र सम्बन्धित संस्थामा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

यस्तै, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने अशक्त तथा असहाय नागरिकका लागि राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर नभए पनि अन्य आवश्यक कागजातका आधारमा वालेट खोल्न र कारोबार गर्न सकिने व्यवस्था संशोधित निर्देशिकामा समावेश गरिएको छ।

 

तपाईको प्रतिक्रिया