क्यानडाबाट आयात हुने सामानमा ५० प्रतिशत भन्सार लागू गर्ने ट्रम्पको घोषणा
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा ५० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्। नयाँ व्यवस्था आगामी ३० दिनभित्र लागू हुने जनाइएको छ।
ट्रम्पले अमेरिकी गाडी, दुग्धजन्य पदार्थ र मदिराप्रति क्यानडाले गरेको ‘असमान व्यवहार’को जवाफस्वरूप यो निर्णय गरिएको बताएका छन्। नयाँ भन्सार दर वाइन, हक्की स्टिक, सिमेन्टलगायतका वस्तुमा लागू हुनेछ भने ऊर्जा, पोटास, महत्वपूर्ण खनिज र माछाजन्य सामग्रीलाई भने छुट दिइएको छ।
यस कदमसँगै अमेरिका–क्यानडा व्यापार सम्बन्धमा थप तनाव बढ्ने अनुमान गरिएको छ। हाल अमेरिकाले क्यानडाबाट आयात हुने स्टिल, आल्मुनियम र तामामा १५ देखि ५० प्रतिशतसम्म, सफ्टवुड काठमा ३५ प्रतिशत तथा विदेशमा निर्मित सवारीसाधनका पार्टपुर्जामा २५ प्रतिशत भन्सार लगाउँदै आएको छ।
यता, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी निर्णयलाई ‘एकपक्षीय व्यापारिक कदम’को संज्ञा दिँदै आगामी केही साताभित्र व्यापार वार्ता तीव्र बनाइने बताएका छन्। उनले अमेरिका–क्यानडा–मेक्सिको व्यापार सम्झौताको उल्लंघन गर्दै अमेरिकाले यस्तो कदम चालेको आरोप लगाएका छन्।
जवाफी कदमस्वरूप क्यानडाले पनि अमेरिकी स्टिल, आल्मुनियम र केही सवारीसाधनमा २५ प्रतिशत भन्सार लागू गरिसकेको छ।
तपाईको प्रतिक्रिया