इरानद्वारा तीन तेल ट्यांकर नियन्त्रणमा, एकमा आगलागी
ऐजेन्सी । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले रणनीतिक महत्वको स्ट्रेट अफ हर्मुज क्षेत्रमा तीनवटा तेल ट्यांकर नियन्त्रणमा लिएको दाबी गरेको छ। तीमध्ये एक ट्यांकरमा विस्फोटपछि आगलागी भएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
आईआरजीसीका अनुसार अमेरिकी सेनाको उक्साहटमा निर्धारित मार्ग छाडेर दक्षिणी जलमार्ग हुँदै अघि बढ्न खोजेका ती ट्यांकरहरूलाई नियन्त्रणमा लिइएको हो।
इरानी सञ्चारमाध्यमले सार्वजनिक गरेको विज्ञप्तिमा अमेरिकाले पूर्वसम्झौता उल्लंघन गरेको आरोप लगाउँदै इरानको अनुमति बिना उक्त जलमार्ग प्रयोग गर्ने जहाजहरूले यस्तै परिणाम भोग्नुपर्ने चेतावनी दिइएको छ।
यसैबीच, अमेरिकी क्षेप्यास्त्र आक्रमणबाट पश्चिमी इरानका अहवाज, रामसिर र एन्डिमेस्क क्षेत्र तथा दक्षिणी इरानको बुशेहर आणविक ऊर्जा केन्द्र आसपासका स्थान प्रभावित भएको इरानी पक्षको दाबी छ। इराक सीमावर्ती शालमचेह क्षेत्रमा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको पनि जनाइएको छ।
उता अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले आफ्नो कारबाहीको उद्देश्य क्षेत्रीय जलमार्ग हुँदै आवतजावत गर्ने नागरिक तथा व्यावसायिक जहाजमाथि इरानले सिर्जना गर्न सक्ने जोखिमलाई कमजोर बनाउनु रहेको जनाएको छ। हाल दुवै पक्षबीच स्ट्रेट अफ हर्मुजको नियन्त्रणलाई लिएर तनाव बढिरहेको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक परे पुल तथा ऊर्जा पूर्वाधारमा आक्रमण गर्न सकिने चेतावनी दिएका थिए।
इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले सामाजिक सञ्जाल एक्स मार्फत इरानले आत्मरक्षाको सिद्धान्तअनुसार आफ्नो सार्वभौमसत्ता र पूर्वाधारमाथिको कुनै पनि आक्रमणको शक्तिशाली र निर्णायक जवाफ दिने बताएका छन्।
तपाईको प्रतिक्रिया